बाढीपहिरो पीडितका लागि अर्घाखाँची समाज जापानको ३ लाख ७० हजार सहयोग
राम्रो पोष्ट
२० भदौ २०८३, शनिवार
टोकियो । नेपालमा भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अर्घाखाँची समाज जापानले ३ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ।
रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरेको हो।
समाजले यसअघि सेप्टेम्बर १३, २०२६ मा आयोजना गर्ने तय भएको तीज दर खाने कार्यक्रम रद्द गरी उक्त अवसरमा हुने खर्च तथा आन्तरिक पहलबाट राहत रकम संकलन गर्ने निर्णय गरेको थियो। साथै, समाजको अक्षय कोषबाट २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको थियो।
अभियानअन्तर्गत जापानबाट १ लाख ७९ हजार १०० येन संकलन भएको थियो। उक्त रकम नेपाली रुपैयाँमा १ लाख ६९ हजार ७० रुपैयाँ बराबर रहेको समाजले जनाएको छ। त्यसमा अक्षय कोषबाट २ लाख रुपैयाँ र नेपालबाट प्राप्त ९३० रुपैयाँ थप गरी कुल ३ लाख ७० हजार रुपैयाँ संकलन भएको हो।
समाजका अनुसार संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
अर्घाखाँची समाज जापानले विपद्को समयमा सहयोग अभियानमा सहभागी हुने सम्पूर्ण सहयोगदाता, समाजका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।
समाजले बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

राम्रो पोष्ट