September 4, 2026

भर्खरै

टोकियोमा बाढीपीडितको सम्झनामा जापान–नेपाल चेम्बर अफ कमर्सद्वारा दीप प्रज्वलन तथा शान्ति प्रार्थना

राम्रो पोष्ट १७ भदौ २०८३, बुधवार
टोकियोमा बाढीपीडितको सम्झनामा जापान–नेपाल चेम्बर अफ कमर्सद्वारा दीप प्रज्वलन तथा शान्ति प्रार्थना

टोकियो, जापान । नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै जापान–नेपाल चेम्बर अफ कमर्सको आयोजनामा टोकियोमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।
चेम्बरका अध्यक्ष डा. बलराम श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा नेपालमा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताको सकुशल उद्धार तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि सामूहिक प्रार्थना गरिएको थियो।
कार्यक्रममा जापान तथा नेपालबीच व्यापार–व्यवसायमा संलग्न व्यवसायी, नेपाली विद्यार्थी, कामदार तथा जापानी नागरिकलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले क्यान्डल बाल्दै प्राकृतिक विपद्का कारण पीडामा परेका नेपाली परिवारप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सहभागीहरूले विपद्को समयमा पीडित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए। प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिमा परेको विपत्तिमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
दीप प्रज्वलनमार्फत नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारको दुःखमा जापानमा रहेका नेपाली तथा जापानी नागरिकसमेत साथमा रहेको सन्देश दिइएको थियो।
चेम्बरले आयोजना गरेको उक्त कार्यक्रमले नेपालमा आएको विपत्तिप्रति जापानमा रहेका नेपाली व्यवसायी तथा समुदायको मानवीय संवेदनशीलता प्रस्तुत गर्नुका साथै नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई समेत थप आत्मीय बनाएको आयोजकको भनाइ छ।
शोक र पीडाको घडीमा टोकियोमा प्रज्वलित गरिएका दीपहरूले बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति साथ र सहानुभूति प्रकट गर्दै नेपालमा शान्ति, आशा र सुरक्षित भविष्यको कामना गरेको सन्देश दिएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट