जापानले एआई कम्पनीका लागि बौद्धिक सम्पत्ति प्रयोगसम्बन्धी नयाँ नियम अपनायो
राम्रो पोष्ट
१० भदौ २०८३, बुधवार
टोकियो — जापान सरकारले जेनेरेटिभ एआई सञ्चालन गर्ने कम्पनीहरूले बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्ने भन्दै नयाँ मार्गदर्शन तथा नियम अपनाएको छ। यसअन्तर्गत जापानी तथा विदेशी एआई कम्पनीहरूलाई आफ्नो एआई मोडल तालिम दिन प्रयोग गरिएको डाटाबारे आधारभूत जानकारी सार्वजनिक गर्न आग्रह गरिएको छ।
नयाँ नियमअनुसार कम्पनीहरूले वेबसाइटमार्फत इन्टरनेटबाट स्वचालित रूपमा डाटा संकलन गर्ने कार्यक्रम तथा प्रणालीबारे सामान्य जानकारी सार्वजनिक गर्नुपर्नेछ। साथै, मंगा, संगीत, समाचारलगायतका सामग्री अधिकारधनीले अनुरोध गरेमा ती सामग्री एआईको प्रशिक्षण डाटामा प्रयोग भएको छ कि छैन भन्नेबारे जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।
तर यी नियम कानुनी रूपमा बाध्यकारी भने छैनन् र उल्लंघन गरेमा जरिवाना वा अन्य सजायको व्यवस्था गरिएको छैन। व्यापारिक गोपनीयता वा सुरक्षा जोखिममा पर्ने जानकारी भने अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने छैन।
जापान सरकारले एआई प्रविधिको विकासलाई रोक्न नदिई बौद्धिक सम्पत्तिको अधिकार पनि सुरक्षित गर्ने उद्देश्यले यो कदम अघि बढाएको जनाएको छ।
यो नियम जापानमा सेवा उपलब्ध गराउने विदेशी एआई कम्पनीहरूमा समेत लागू हुनेछ। सरकारले नियम पालना गर्ने कम्पनीहरूको सूची र उनीहरूले सार्वजनिक गरेका विवरणको वेबसाइट लिंकसमेत प्रकाशित गर्ने योजना बनाएको छ।
नयाँ मार्गदर्शन जापानको गत वर्ष पारित भएको एआईसम्बन्धी कानुनअनुसार तयार गरिएको हो।

राम्रो पोष्ट