फुकुशिमाबाट समुद्रमा छोडियो १ लाख ७२ हजार टन पानी! चीनमा जापानी समुद्री खाद्यमाथिको प्रतिबन्ध अझै कायमै
राम्रो पोष्ट
९ भदौ २०८३, मङ्गलवार
टोकियो । जापानको फुकुशिमा दाइइची आणविक केन्द्रबाट प्रशोधित पानी समुद्रमा छाड्न थालेको तीन वर्ष पूरा भएको छ। यस अवधिमा २२ चरणमा गरी १ लाख ७२ हजार ७ सय टन प्रशोधित पानी समुद्रमा छाडिएको छ।
सन् २०२३ अगस्ट २४ देखि TEPCO ले फुकुशिमा प्लान्टबाट प्रशोधित पानी समुद्रमा छाड्न थालेको हो। जापानले पानीलाई प्रशोधन र समुद्री पानीसँग मिसाएर ट्रिटियमको मात्रा सुरक्षा मापदण्डभन्दा निकै कम बनाएपछि समुद्रमा छाड्ने गरेको बताउँदै आएको छ।
तर, यो प्रक्रियाको असर जापान–चीन व्यापार सम्बन्धमा समेत परेको छ। पानी समुद्रमा छाड्न सुरु भएपछि चीनले जापानी समुद्री खाद्य पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। पछि चीनले अधिकांश जापानी क्षेत्रबाट समुद्री खाद्य आयात पुनः खुला गरे पनि फुकुशिमा सहित १० प्रिफेक्चरका उत्पादनमाथि प्रतिबन्ध कायमै राखेको थियो।
चीनले सन् २०२५ मा प्रतिबन्ध क्रमशः खुकुलो बनाउँदै केही क्षेत्रका जापानी समुद्री खाद्य पदार्थ पुनः आयात गर्न अनुमति दिएको थियो। त्यसपछि जापानबाट चीनतर्फ समुद्री खाद्य निर्यात पनि पुनः सुरु भएको थियो।
तर फुकुशिमा लगायत बाँकी प्रतिबन्धित क्षेत्रका उत्पादनका हकमा विवाद पूर्ण रूपमा समाधान भएको छैन। जापानले चीनसँग बाँकी प्रतिबन्ध पनि हटाउन आग्रह गर्दै आएको छ।
फुकुशिमाको पानी समुद्रमा छाड्ने विषयमा जापानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (क्ष्ब्भ्ब्) को निगरानी र वैज्ञानिक परीक्षणका आधारमा प्रक्रिया सुरक्षित रहेको दाबी गर्दै आएको छ। अर्कोतर्फ, चीनले समुद्री वातावरण र खाद्य सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै थप निगरानी र परीक्षणको माग गर्दै आएको छ।
यसबीच, फुकुशिमाको पानी समुद्रमा छाड्ने प्रक्रिया अझै दशकौँसम्म चल्ने जापानको योजना छ। त्यसैले १ लाख ७२ हजार टनभन्दा बढी पानी समुद्रमा पुगिसक्दा पनि फुकुशिमाको पानीसँग जोडिएको वातावरणीय, व्यापारिक र कूटनीतिक विवाद भने पूर्ण रूपमा अन्त्य भएको छैन।

राम्रो पोष्ट