राति २ बजे जापान हल्लियो, इबाराकी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
राम्रो पोष्ट
६ भदौ २०८३, शनिवार
टोकियो, जापान । जापानमा मध्यरातमै शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान ठीक २ बजे इबाराकी प्रिफेक्चरको दक्षिणी भागलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा टोकियोसहित कान्तो क्षेत्रका विभिन्न स्थान हल्लिएका छन्।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि इबाराकी, साइतामा, चिबा र टोकियोका विभिन्न क्षेत्रमा शिन्दो ५ कमजोर स्तरको कम्पन मापन गरिएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ७० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पसँगै जापान मौसम विज्ञान एजेन्सीले आपत्कालीन भूकम्प चेतावनी जारी गरेको थियो। धेरै मानिसको मोबाइलमा अचानक चेतावनी बज्न थालेपछि मध्यरातमै सर्वसाधारण त्रसित बनेका थिए।
टोकियोको आदाची क्षेत्र, साइतामाका केही स्थान, चिबाको उरायासु तथा इबाराकीका विभिन्न सहरमा बलियो कम्पन महसुस भएको समाचारमा उल्लेख छ।
राहतको कुरा, यस भूकम्पबाट सुनामीको खतरा नरहेको बताइएको छ। साथै, हालसम्म जापानी सञ्चारमाध्यममा ठूलो भौतिक क्षति वा मानवीय हताहती भएको पुष्टि भएको खबर आएको छैन। सम्बन्धित निकायहरूले क्षतिको अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन्।
जापानमा रहेका नेपालीसहित सबैलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्पपछि साना–ठूला परकम्प आउन सक्ने भएकाले मोबाइलको आपत्कालीन सूचना सक्रिय राख्न, सुरक्षित स्थानको जानकारी लिन र आधिकारिक सूचना मात्र विश्वास गर्न आवश्यक छ।
राति २ बजे आएको यो शक्तिशाली धक्काले फेरि एकपटक जापानमा भूकम्पको त्रास फैलाएको छ।

राम्रो पोष्ट