August 22, 2026

भर्खरै

विदेशी बनेर लुट्न खोज्ने जापानीको नाटक फेल, प्रहरीको फन्दामा!

राम्रो पोष्ट ६ भदौ २०८३, शनिवार
विदेशी बनेर लुट्न खोज्ने जापानीको नाटक फेल, प्रहरीको फन्दामा!

ओइजुमी, जापान । जापानमा विदेशी नागरिकजस्तो आवाज निकालेर आफ्नो पहिचान लुकाउँदै कन्भिनियन्स स्टोर लुट्न खोज्ने एक जापानी युवक अन्ततः प्रहरीको फन्दामा परेका छन्।
जापानी सञ्चारमाध्यमका अनुसार, गुनमा प्रान्तको ओइजुमी नगरस्थित एक लसन कन्भिनियन्स स्टोरमा अगस्ट १८ गते बिहान करिब २ः३० बजे चक्कु बोकेका एक व्यक्ति प्रवेश गरेका थिए। पसलमा त्यसबेला काउन्टर सम्हालिरहेका करिब ५० वर्षका म्यानेजर मात्रै थिए।
ती व्यक्तिले चक्कु देखाउँदै नगद मागे। तर उनले सामान्य जापानी शैलीमा नभई विदेशीले जापानी भाषा बोलिरहेको जस्तो सुनिने गरी अस्वाभाविक उच्चारणमा “ओकाने ओ कुदासाइ” अर्थात् “पैसा दिनुहोस्” भनेका थिए।
चक्कु देखाएर धम्क्याइरहेका व्यक्तिले समेत “कुदासाइ अर्थात् कृपया” भन्दै पैसा मागेपछि उनको बोल्ने शैली झनै अनौठो देखिएको बताइएको छ।
तर स्टोर म्यानेजरले पैसा दिन अस्वीकार गरेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। घटनापछि प्रहरी अनुसन्धानमा जुट्यो। सुरक्षा क्यामेरा फुटेज र अन्य प्रमाणका आधारमा प्रहरीले संदिग्धको पहिचान गुनमा प्रान्तको इसे्‌साकी निवासी ३२ वर्षीय अत्सुशी गोतोका रूपमा गरेको थियो।
अनुसन्धानका क्रममा घटना हुनुभन्दा एक दिनअघि अगस्ट १७ मा पनि इसे्‌साकीस्थित अर्को कन्भिनियन्स स्टोरमा उस्तै शैलीमा चक्कु देखाएर करिब ३० हजार येन लुटिएको खुल्न आएको छ। त्यहाँ पनि संदिग्धले उही शैलीमा “ओकाने ओ कुदासाइ” भन्दै नगद मागेका थिए।
घर नजिकैबाट पक्राउ परेका गोतोले लुटपाटको प्रयास गरेको स्वीकार गरेका छन्। प्रहरीको सोधपुछमा उनले आफू जापानी भए पनि जानाजानी विदेशी नागरिकजस्तो सुनिने गरी जापानी भाषा बोलेको बताएका छन्।
उनको उद्देश्य विदेशीको जस्तो आवाज निकालेर आफ्नो पहिचान लुकाउनु थियो। तर विदेशी बनेर अपराध गर्ने उनको योजना अन्ततः सफल हुन सकेन र उनी प्रहरीको फन्दामा परे।
विदेशी बनेर लुट्न खोज्ने उनको नाटक फेल भयो, अब भने जापानी युवकले प्रहरीसामु आफ्नै पहिचान खुलाउनुपरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट