विद्यार्थीको पानीको बोतलमा पिसाब हाल्ने शिक्षक बर्खास्त
राम्रो पोष्ट
५ भदौ २०८३, शुक्रवार
गुन्मा, जापान। जापानको गुन्मा प्रान्तमा एक माध्यमिक विद्यालयका २० वर्ष उमेर समूहका पुरुष शिक्षकले विद्यार्थीको पानीको बोतलमा पिसाब हालेको घटना सार्वजनिक भएपछि उनलाई बर्खास्त गरिएको छ।
गुन्मा प्रिफेक्चरल शिक्षा बोर्डले बुधबार ती शिक्षकलाई सेवाबाट हटाएको हो। जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार शिक्षकले गत मे २८ मा विद्यार्थीको पानीको बोतलमा पिसाब हालेका थिए।
पानीको स्वाद अस्वाभाविक र दुर्गन्धित भएको महसुस भएपछि विद्यार्थीले घटना थाहा पाएर अभिभावकलाई जानकारी दिएका थिए। त्यसपछि अभिभावकले विद्यालयसँग सम्पर्क गरेपछि घटना बाहिरिएको थियो।
शिक्षा बोर्डको सोधपुछका क्रममा ती शिक्षकले आफूले कुनै निश्चित विद्यार्थीलाई लक्षित नगरेको र आवेगमा आएर यस्तो गरेको बयान दिएका छन्।
शिक्षक र पीडित पक्षबीच सहमति भइसकेको बताइएको छ। तर घटनापछि विद्यार्थी मानसिक तनाव तथा शारीरिक अस्वस्थताबाट पीडित भएको र धेरै दिन विद्यालय जान नसकेको जनाइएको छ।
पीडितको सुरक्षालाई ध्यानमा राख्दै विद्यार्थीको उमेर, लिङ्गलगायत थप विवरण सार्वजनिक गरिएको छैन।

राम्रो पोष्ट