अब टोकियोमा ट्याक्सी चलाउन मान्छे नै नचाहिने! चालकबिनै दौडिने Waymo को ठूलो घोषणा
राम्रो पोष्ट
४ भदौ २०८३, बिहिवार
टोकियो — अब जापानको राजधानी टोकियोमा ट्याक्सी चलाउन चालक नै नचाहिने दिन नजिकिँदै गएको छ। जापानी सञ्चारमाध्यम निक्केईका अनुसार, अमेरिकाको स्वचालित सवारी प्रविधि कम्पनी Waymoले निकट भविष्यमा टोकियोमा चालकबिनाको ट्याक्सी अर्थात् ८८रोबोट्याक्सी सेवा व्यावसायिक रूपमा सुरु गर्ने अपेक्षा गरेको जनाएको छ।
Waymoका एक उच्च अधिकारीले मंगलबार आयोजित प्राविधिक ब्रिफिङमा टोकियोमा चाँडै स्वचालित सवारी सेवा सुरु गर्ने तयारी भइरहेको बताएका हुन्। यद्यपि सेवा सुरु हुने ठ्याक्कै मिति भने कम्पनीले सार्वजनिक गरेको छैन।
टोकियोका सडकमा अहिले नै WAYMO लेखिएका सवारीसाधन देखिन थालेका छन्। कम्पनीले जापानमा आफ्नो स्वचालित ड्राइभिङ प्रविधिको परीक्षण तथा प्रदर्शनलाई अघि बढाउँदै आएको छ।
Waymoले जापानको प्रमुख राइड–हेलिङ कम्पनी GO तथा ट्याक्सी कम्पनी Nihon Kotsu सँग सहकार्य गरिरहेको छ। टोकियोका जटिल सडक, साँघुरा गल्ली र जापानको बायाँतर्फ सवारी चलाउने प्रणालीअनुसार आफ्नो प्रविधिलाई तयार पार्ने काम भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार Waymo का स्वचालित सवारीले हालसम्म करिब ३५ करोड किलोमिटरभन्दा बढी यात्रा गरिसकेका छन्। कम्पनीको दाबीअनुसार मानिसले चलाउने सवारीको तुलनामा Waymo सवारीमा व्यक्तिगत चोटपटक हुने दुर्घटनाको संख्या ९४ प्रतिशतसम्म कम रहेको छ।
Waymo को सवारीमा प्रयोग हुने Waymo Driver प्रविधिले कृत्रिम बुद्धिमत्ता अर्थात् AI र पहिले नै निर्धारण गरिएका ट्राफिक नियमलाई एकसाथ प्रयोग गर्छ। सवारीले सडकमा रहेका मानिस, अन्य गाडी, ट्राफिक संकेत तथा विभिन्न अवरोध पहिचान गर्दै आफैं निर्णय गर्न सक्छ।
कम्पनीले स्वचालित रूपमा चलिरहेको गाडीले ट्राफिक नियम पालना गरिरहेको छ कि छैन भन्ने निगरानी गर्ने छुट्टै प्रणालीसमेत राखेको जनाएको छ। दुर्घटना वा कुनै समस्या भएमा AI ले किन त्यस्तो निर्णय लियो भन्ने विषय पनि पछि विश्लेषण गर्न सकिने व्यवस्था रहेको बताइएको छ।
आवश्यक प्राविधिक तयारी पूरा गरी जापानी नियामक निकायबाट अनुमति पाएपछि टोकियोमा चालकबिनै यात्रु बोक्ने रोबोट्याक्सी सेवा सुरु गर्ने Waymo को लक्ष्य छ।
यदि Waymo को योजना सफल भयो भने, भविष्यमा टोकियोको व्यस्त सडकमा यात्रु चढेको ट्याक्सी त देखिनेछ, तर स्टेयरिङ समातेर बस्ने चालक भने नहुन सक्छन्।

राम्रो पोष्ट