August 19, 2026

भर्खरै

रिसाएर कुटपिट गर्दा २ वर्षीय बालकको मृत्यु, आमाको सहजीवनका साथी पक्राउ

राम्रो पोष्ट ३ भदौ २०८३, बुधवार
रिसाएर कुटपिट गर्दा २ वर्षीय बालकको मृत्यु, आमाको सहजीवनका साथी पक्राउ

योकोहामा। जापानको योकोहामामा आमाको सहजीवनका साथीले २ वर्षीय बालकमाथि कुटपिट गर्दा मृत्यु भएको घटनामा ३६ वर्षीय एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कम्पनीमा कार्यरत इसामु साइटो रहेका छन्। प्रहरीले उनीमाथि आफ्नी सहजीवनकी पत्नीका छोरा र्योकी फुजीईमाथि कुटपिट गरी मृत्यु गराएको आरोप लगाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ८ बजे योकोहामाको मिदोरी वार्डस्थित आफ्नै घरमा साइटोले बालकको अनुहारमा मुक्का प्रहार गर्नुका साथै शरीरलाई जोडले हल्लाएका थिए।
घटनाका बेला बालककी आमा किनमेलका लागि बाहिर गएकी थिइन्। घर फर्किएपछि उनले छोरालाई अचेत अवस्थामा भेटिन्। बालकको अनुहारभरि चोटका डाम थिए भने नाकबाट रगत बगिरहेको थियो। उनले तत्काल ११९ मा फोन गरेपछि बालकलाई अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।
अस्पतालले सम्भावित बाल दुर्व्यवहारको घटना भन्दै प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान सुरु भएको थियो।
अनुसन्धानका क्रममा साइटोले आरोप स्वीकार गर्दै भनेका छन्, “बालकले बदमासी गरेकाले मलाई रिस उठ्यो। उसले कोठाको भित्तामा हिर्कायो, त्यसपछि मैले गाली गरेँ। पछि ऊ सुतेको नाटक गर्न थाल्यो, त्यसले झन् रिस उठ्यो।”
प्रहरीका अनुसार साइटो र बालककी आमा सन् २०२५ को सेप्टेम्बरमा सामाजिक सञ्जालमार्फत चिनजान भएका थिए। गत अगस्ट १४ मा साइटोले ती महिला र उनका तीन जना छोराछोरीलाई यामागुची प्रिफेक्चरबाट आफ्नो योकोहामास्थित घरमा ल्याएका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट