जापानी सेनाको डरलाग्दो रहस्यः आफ्नै सैनिकमाथि मलेरिया प्रयोग!
राम्रो पोष्ट
३ भदौ २०८३, बुधवार
टोकियो— दोस्रो चीन–जापान युद्धका क्रममा इम्पेरियल जापानी सेनाले आफ्नै सैनिकमाथि समेत मलेरिया सम्बन्धी प्रयोग गरेको तथ्य सार्वजनिक भएको छ। Japan Today मा प्रकाशित समाचारअनुसार, युद्धमा सहभागी हुन अयोग्य ठहरिएका तथा मानसिक रोगका कारण जापानमै सैनिक अस्पतालमा उपचाररत १० जना सैनिकलाई मलेरिया फैलाउन सक्ने लामखुट्टेको सम्पर्कमा राखेर प्रयोग गरिएको थियो।
ती सैनिकलाई टोकेको लामखुट्टे यसअघि मलेरियाबाट संक्रमित सैनिकको रगत चुसिसकेको थियो। सैनिक चिकित्सकहरूले मलेरिया कसरी सर्छ भन्ने अध्ययनका लागि उक्त प्रयोग गरेका थिए।
अनुसन्धानकर्ता तथा मेइजी गाकुइन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका सेइया मात्सुनोले यससम्बन्धी अनुसन्धानपत्रको अस्तित्व पुष्टि गरेका हुन्। उनले प्रयोगमा सहभागी सैनिकहरूले आफूहरूमाथि के प्रकारको परीक्षण हुँदैछ र त्यसको जोखिम कति थियो भन्ने पूर्ण जानकारी पाएका थिए वा थिएनन् भन्नेमा समेत प्रश्न उठाएका छन्।
प्रकाशित विवरणअनुसार, सन् १९४० मा टोकियो नजिकैको चिबा प्रिफेक्चरस्थित सैनिक अस्पतालमा यो प्रयोग गरिएको थियो। उक्त अस्पताल मानसिक रोगबाट पीडित सैनिकहरूको उपचारका लागि प्रयोग हुँदै आएको बताइएको छ।
प्रयोगमा सहभागी १० जनामध्ये पाँच जनामा केही समयपछि मलेरियाका लक्षण देखिएका थिए। उनीहरूलाई ४० डिग्री सेल्सियसभन्दा बढी ज्वरो आउने, शरीर दुख्ने र भोक नलाग्ने समस्या भएको अनुसन्धानपत्रमा उल्लेख छ। केही समय निगरानीमा राखेपछि उनीहरूलाई औषधि दिइएको थियो।
यस प्रयोगको सम्बन्ध कुख्यात युनिट ७३१ सँग जोडिएका शिरो इशीसँग समेत रहेको संकेत अनुसन्धानपत्रमा भेटिएको व्बउबल त्यमबथ ले जनाएको छ। युनिट ७३१ युद्धकालमा युद्धबन्दीहरूमाथि जैविक तथा रासायनिक अनुसन्धानका नाममा मानव प्रयोग गरेको आरोपका कारण कुख्यात छ।
मात्सुनोका अनुसार, युद्ध वा राष्ट्रका लागि उपयोगी नभएका ठानिएका मानिसलाई राष्ट्रियता नहेरी प्रयोगको सामग्रीका रूपमा हेर्ने तत्कालीन सैन्य मानसिकता यस घटनाले उजागर गरेको छ।
Japan Today को समाचारअनुसार, ती १० जना सैनिकमध्ये पछि कोही मरे वा सबै बाँचे भन्ने स्पष्ट विवरण भने सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छैन।

राम्रो पोष्ट