जापानले ल्यायो चोर समात्ने गोप्य ट्याग! चोरी भएको केबल नै फिर्ता ल्याउने नयाँ प्रविधि
राम्रो पोष्ट
६ साउन २०८३, बुधवार
टोकियो। जापानमा सौर्य विद्युत् (सोलार) केन्द्रबाट तामाका केबल चोरीका घटना बढिरहेका बेला चोरी भएको केबलको वास्तविक स्थान पत्ता लगाएर फिर्ता ल्याउने नयाँ प्रविधि विकास गरिएको छ। यस प्रविधिले चोरी नियन्त्रणमा नयाँ आशा जगाएको छ।
गिफु प्रिफेक्चरस्थित सुजुदेन कम्पनी ले विकास गरेको ‘ल्भ्इतबन’ नामक गोप्य ट्र्याकिङ ट्यागले चोरी भएको केबल कहाँ पुगेको छ भन्ने जानकारी मोबाइल वा कम्प्युटरबाटै दिन सक्छ। कम्पनीका अनुसार यस प्रविधिले चोरी भएको केबल करिब ५ मिटरको त्रुटिभित्रै पत्ता लगाउन सक्छ।
यस वर्ष मार्चमा गिफु प्रिफेक्चरको एक सौर्य विद्युत् केन्द्रबाट तामाको केबल चोरी भएपछि यही ट्यागको सहायताले केबल नजिकैको र्स्क्याप यार्डमा पुगेको पत्ता लागेको थियो। कम्पनीले तत्काल प्रहरीलाई जानकारी दिएपछि अनुसन्धान अगाडि बढ्यो र दुई सातापछि ५५ वर्षीय एक स्थानीय व्यक्तिलाई पक्राउ गर्दै चोरी भएको ४६ मिटर तामाको केबल बरामद गरिएको थियो।
सन् २०२२ यता सौर्य विद्युत् केन्द्रबाट बारम्बार केबल चोरी हुँदा कम्पनीले मात्रै ४ करोड येनभन्दा बढी क्षति व्यहोरेको जनाएको छ। यही समस्याबाट आजित भएपछि कम्पनीले करोडौं येन खर्च गरेर करिब डेढ वर्षको अनुसन्धानपछि यो गोप्य ट्र्याकिङ प्रणाली विकास गरेको हो।
जापानमा तामाको मूल्य बढेसँगै धातु चोरीका घटना पनि तीव्र रूपमा बढिरहेका छन्। सरकारी तथ्यांकअनुसार सन् २०२४ मा देशभर २० हजार ७०१ वटा धातु चोरीका घटना दर्ता भएका थिए, जसमध्ये ७ हजारभन्दा बढी घटना सौर्य विद्युत् केन्द्रका केबल चोरीसँग सम्बन्धित थिए।
बढ्दो चोरी नियन्त्रण गर्न जापान सरकारले यस वर्ष जुनदेखि नयाँ कानुनसमेत लागू गरेको छ। अब तामा किनबेच गर्ने व्यवसायले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, विक्रेताको परिचय प्रमाणित गर्नुपर्ने र कारोबारको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ। नियम उल्लंघन गर्नेलाई ६ महिनासम्म कैद, १० लाख येनसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।
कम्पनीका अध्यक्ष हिदेतोशी सुजुमुराले सुरक्षा क्यामेरा मात्र पर्याप्त नभएको उल्लेख गर्दै ’चोरहरूलाई केबलमा ट्र्याकिङ ट्याग जडान गरिएको थाहा भए चोरी गर्ने हिम्मत नै कम हुनेछ’ भन्ने विश्वास व्यक्त गरेका छन्। अहिले यो प्रविधिप्रति जापानभरका धेरै कम्पनीले चासो देखाउन थालेका छन्।

राम्रो पोष्ट