जापानमा महँगीको कहरः बच्चाहरू भोको सुत्न बाध्य, एसीसमेत चलाउन नसक्ने अवस्थामा हजारौं परिवार!
राम्रो पोष्ट
५ साउन २०८३, मङ्गलवार
टोकियो। विकसित राष्ट्र जापानमा महँगीले निम्त्याएको आर्थिक संकट यति गहिरिँदै गएको छ कि हजारौं न्यून आय भएका परिवार आफ्ना बालबालिकालाई पर्याप्त खाना खुवाउनसमेत असमर्थ भएका छन्। गर्मी बिदा सुरु भएसँगै विद्यालयको निःशुल्क मध्याह्न भोजन बन्द भएपछि धेरै परिवारले खानाको मात्रा घटाउन थालेका छन् भने चर्को गर्मीमा पनि बिजुलीको बिल तिर्न नसकेर एसी नचलाउने अवस्था आएको छ।
टोकियोस्थित गैरनाफामूलक संस्था किड्सडोर (प्ष्मकमययच) ले गरेको सर्वेक्षणअनुसार १,४४९ परिवारमध्ये अधिकांशले महँगीका कारण बालबालिकाको खानामा कटौती गर्नुपर्ने बाध्यता आएको बताएका छन्। प्राथमिक र निम्न माध्यमिक तहका बालबालिका भएका परिवारमध्ये ६४ प्रतिशतले प्रत्येक छाकमा खाना घटाउनुपर्ने, ६१ प्रतिशतले मासु वा माछा किन्न नसक्ने र ४४ प्रतिशतले आफ्ना छोराछोरीले दिनमा तीन पटक खाना खान नपाउने अवस्था आउने बताएका छन्।
अझ चिन्ताजनक कुरा त वार्षिक १० लाख येनभन्दा कम आम्दानी भएका परिवारमा देखिएको छ। यस समूहका ३१ प्रतिशत बालबालिकाले लगभग हरेक दिन पर्याप्त खाना पाउन नसकेको अभिभावकहरूले बताएका छन्। यस्तै, ३० प्रतिशतभन्दा बढीले आफ्ना बालबालिका अन्य साथीहरूको तुलनामा दुब्ला वा होचा हुँदै गएको बताएका छन्।
अपर्याप्त खानाका कारण बालबालिकामा चिडचिडापन, बेचैनी, बारम्बार बिरामी पर्ने, रक्तअल्पता (एनिमिया) र स्वास्थ्य कमजोर हुने समस्या बढ्दै गएको अभिभावकहरूले बताएका छन्।
महँगीको असर खानामा मात्र सीमित छैन। सर्वेक्षणमा सहभागी ३८ प्रतिशत परिवारले चर्को गर्मीमा पनि खर्च बचाउन एसीको प्रयोग निकै सीमित गर्ने बताएका छन् भने ६ प्रतिशतले त लगभग एसी नै नचलाउने बताएका छन्।
आर्थिक संकटले अभिभावकहरूको मानसिक स्वास्थ्यसमेत प्रभावित भएको छ। ४४ प्रतिशतले गर्मी बिदाको सोचले नै आफूहरू गम्भीर तनाव र निराशामा पर्ने बताएका छन्। तीमध्ये आधाले आफ्ना पीडा सुनाउने वा सल्लाह लिने कोही नभएको बताएका छन्।
यस अवस्थालाई गम्भीर भन्दै किड्सडोरले न्यून आय भएका परिवारका लागि तत्काल नगद सहायता, खाद्यान्न सहयोग, विद्यालय बिदाका समयमा निःशुल्क भोजनको व्यवस्था तथा एसीयुक्त सार्वजनिक स्थलहरूको पहुँच विस्तार गर्न जापान सरकारसँग माग गरेको छ।

राम्रो पोष्ट