घर पुगेपछि कारमै छुटे ११ महिनाका नानी… गर्मीले लियो ज्यान!
राम्रो पोष्ट
२ साउन २०८३, शनिवार
टोकियो। जापानको कुमामोतो प्रिफेक्चरमा घर पुगेपछि कारभित्रै छुटेका ११ महिनाका एक शिशुको अत्यधिक गर्मी (हिटस्ट्रोक) का कारण ज्यान गएको छ।
प्रहरीका अनुसार, साकुतो यामाशिता नामका ११ महिनाका बालकलाई उनकी आमाले घर फर्किएपछि कारको पछाडिको चाइल्ड सिटमै छोडेकी थिइन्। आमाले काम र घरायसी कामलाई प्राथमिकता दिँदा शिशुलाई करिब ३० मिनेटदेखि १ घण्टासम्म कारभित्रै छोडिएको बताएकी छन्।
दिउँसो करिब २ः१५ बजे कारमा फर्किँदा शिशु अचेत अवस्थामा भेटिएपछि आमाले तत्काल आपतकालीन सेवा ११९ मा फोन गरिन्। उनलाई अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भयो।
पोस्टमार्टमबाट शिशुको मृत्यु हिटस्ट्रोक का कारण भएको पुष्टि भएको छ।
घटना भएको दिन कुमामोतो शहरको तापक्रम ३२.५ डिग्री सेल्सियस पुगेको थियो भने प्रिफेक्चरभरि हिटस्ट्रोकसम्बन्धी चेतावनी जारी गरिएको थियो।
गर्मीको मौसममा कारभित्रको तापक्रम केही मिनेटमै खतरनाक स्तरसम्म पुग्न सक्ने भएकाले जापानी अधिकारीहरूले बालबालिकालाई एकछिनका लागि पनि कारभित्र एक्लै नछोड्न अभिभावकहरूलाई बारम्बार सचेत गराउँदै आएका छन्।

राम्रो पोष्ट