July 17, 2026

भर्खरै

जापानमा कामको चर्को दबाबको भयावह असर! अत्यधिक काम र कार्यस्थलको तनावले क्षतिपूर्ति दाबी इतिहासकै उच्च

राम्रो पोष्ट ३२ असार २०८३, बिहिवार
जापानमा कामको चर्को दबाबको भयावह असर! अत्यधिक काम र कार्यस्थलको तनावले क्षतिपूर्ति दाबी इतिहासकै उच्च

टोकियो। जापानमा अत्यधिक काम (करोशी), कार्यस्थलको मानसिक तनाव तथा विभिन्न प्रकारका उत्पीडनका कारण श्रमिकहरूले दायर गर्ने क्षतिपूर्ति दाबी आर्थिक वर्ष २०२५ मा इतिहासकै उच्च स्तरमा पुगेको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ६,२१२ वटा क्षतिपूर्ति दाबी दर्ता भएका छन्। यो अघिल्लो वर्षको तुलनामा १,४०२ वटा बढी हो र अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।
प्रतिवेदनअनुसार दर्ता भएका घटनामध्ये १,३१० वटा घटनामा अत्यधिक काम, कामसँग सम्बन्धित मानसिक तनाव, कार्यस्थलको दबाब, रोग वा आत्महत्यालाई कामसँग प्रत्यक्ष सम्बन्धित मान्दै क्षतिपूर्ति स्वीकृत गरिएको छ। यस्तो स्वीकृत घटनाको संख्या लगातार चौथो वर्ष बढेको मन्त्रालयले जनाएको छ।
कार्यस्थलमा मानसिक स्वास्थ्य बिग्रिनुको प्रमुख कारण माथिल्लो तहका अधिकारीबाट हुने शारीरिक वा मानसिक दुर्व्यवहार (पावर हरासमेन्ट) रहेको प्रतिवेदनले देखाएको छ। यस्ता २२२ वटा घटना प्रमुख कारणका रूपमा दर्ता भएका छन्।
त्यसपछि ग्राहक वा व्यावसायिक साझेदारबाट हुने दुर्व्यवहार (कस्टमर हरासमेन्ट) र यौन दुर्व्यवहार (सेक्सुअल हरासमेन्ट) मानसिक तनावका प्रमुख कारण बनेका छन्।
मन्त्रालयका अनुसार अत्यधिक कामका कारण हुने मृत्यु (करोशी) र कार्यस्थलमा हुने उत्पीडनबारे जनचेतना तथा कानुनी जानकारी बढ्दै जाँदा पीडितहरू क्षतिपूर्तिका लागि अघि आउन थालेका छन्। यही कारणले पछिल्ला वर्षहरूमा यस्ता दाबीको संख्या निरन्तर बढिरहेको मन्त्रालयको विश्लेषण छ।
विशेषज्ञहरूले भने कार्यस्थलमा बढ्दो मानसिक दबाब, लामो कार्यसमय र विभिन्न प्रकारका हरासमेन्ट नियन्त्रण गर्न प्रभावकारी उपाय नअपनाए आगामी वर्षहरूमा यो समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट