जापानबाट नेपाल पैसा पठाउन नयाँ डिजिटल विकल्प, टोकियोबाट ‘YeheyRemit’ को औपचारिक सुरुवात
राम्रो पोष्ट
२६ वैशाख २०८३, शनिवार
टोकियो । जापानमा रहेका नेपालीहरूले नेपाल पैसा पठाउँदा भोग्दै आएको ढिलो प्रक्रिया, झन्झट र असुरक्षाको चिन्तालाई अन्त्य गर्ने दाबी गर्दै आधुनिक डिजिटल प्रविधिमा आधारित नयाँ रेमिट सेवा ‘YeheyRemit’ ले टोकियोबाट आफ्नो औपचारिक यात्रा सुरु गरेको छ।
टोकियोको व्यावसायिक क्षेत्र आकिहाबारास्थित इंटरनेशनल एक्ट बिल्डिंगमा आयोजित विशेष समारोहबीच ‘YeheyRemit’ को उद्घाटन गरिएको हो। कम्पनीका अनुसार यो सेवामार्फत जापानबाट नेपालसहित विभिन्न देशमा छिटो, सुरक्षित र सहज रूपमा रकम पठाउन सकिनेछ।
हाल जापानमा अध्ययन, रोजगारी तथा व्यवसायमा संलग्न नेपालीहरूको संख्या निरन्तर बढिरहेका बेला भरपर्दो र प्रविधिमैत्री रेमिट्यान्स सेवाको आवश्यकता पनि बढ्दै गएको छ।
विदेशमा बसेर कठिन मेहनत गरी कमाएको रकम सुरक्षित रूपमा परिवारसम्म पुर्याउनुपर्ने संवेदनशीलतालाई ध्यानमा राख्दै ‘YeheyRemit’ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
विभिन्न देशका समुदाय प्रतिनिधि, पत्रकार, व्यवसायी, समाजसेवी तथा नेपाली समुदायका व्यक्तिहरूको उपस्थितिमा नेपाली परम्पराअनुसार पूजा पाठ र रिबन काटेर ‘YeheyRemit’ सेवाको शुभारम्भ गर्दै अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यकारी निर्देशक नबिन निउरेले विदेशमा रहेका आप्रवासीहरूले भोग्दै आएको ढिलो सेवा, झन्झट र उच्च शुल्कको समस्या समाधान गर्दै सुरक्षित, छिटो र समुदायमैत्री सेवा दिने लक्ष्यसहित ‘YeheyRemit’ सुरु गरिएको बताए।
कम्पनीका अनुसार आगामी दिनमा सेवा विस्तार गर्दै रेमिट्यान्स क्षेत्रलाई अझ सहज र विश्वासिलो बनाउने योजना अघि बढाइएको छ। विदेशको कमाइलाई परिवारको खुसीसँग सुरक्षित रूपमा जोड्ने उद्देश्यसहित ‘YeheyRemit’ ले जापानस्थित नेपाली समुदायमा नयाँ भरोसा थप्ने अपेक्षा गरिएको छ।

राम्रो पोष्ट