June 27, 2026

भर्खरै

लोकदोहोरीले जोड्यो प्रवासी मन, जापानमा प्रकाश पराजुली र अस्मिता डल्लाकोटी सम्मानित

राम्रो पोष्ट २७ पुष २०८२, आइतवार
लोकदोहोरीले जोड्यो प्रवासी मन, जापानमा प्रकाश पराजुली र अस्मिता डल्लाकोटी सम्मानित

टोकियो—जापानको व्यस्त जीवन, फरक संस्कृति र समयसँगको निरन्तर दौडबीच पनि नेपाली संगीतले प्रवासी नेपालीको मनमा आफ्नै गाउँ–घर, माटो र स्मृतिलाई जिउँदै राख्दै आएको छ। 

यही भावनाको सशक्त झल्को बुधबार टोकियोको सिन–ओकुबोस्थित सोलमारी मुरा हलमा देखियो।

स्याङ्जा समाज जापान र धादिङ समाज जापानको संयुक्त आयोजनामा नेपाली लोक तथा दोहोरीगायन क्षेत्रका चर्चित कलाकार प्रकाश पराजुली र धादिङकी चेली अस्मिता डल्लाकोटीलाई सम्मान तथा विदाइ गरिएको हो। 

सन २०२६ जनवरी ७ मा सम्पन्न उक्त कार्यक्रममा औपचारिकताभन्दा बढी भावना, अपनत्व र सांगीतिक आत्मीयताको सुन्दर संगम देखिन्थ्यो।

जापान भ्रमणका क्रममा रहेका यी दुई कलाकारलाई संस्थागत स्वागत, सम्मान र विदाइ गरिनुका साथै डिनर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। 

स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीका अनुसार प्रवासी नेपाली समुदायले यस कार्यक्रममार्फत नेपाली लोकसंस्कृतिप्रति आफ्नो गहिरो माया र सम्मान प्रकट गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि NRNA ICC  का उपाध्यक्ष रोबिन शेरचनले नेपाली कला र संस्कृतिले विश्वभर रहेका नेपालीलाई एकताबद्ध बनाउने महत्वपूर्ण भूमिका खेलेको बताए। कलाकारहरू सांस्कृतिक दूतका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले विदेशमा पनि नेपाली लोकसंगीतको संरक्षण र प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा व्यक्त गरे।

छोटो समयमै कार्यक्रम तय गरिए पनि सहभागिता उल्लेख्य रह्यो। विभिन्न जिल्ला समाज जापानका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी र शुभचिन्तकको बाक्लो उपस्थितिले कार्यक्रमलाई प्रवासी नेपाली समुदायको साझा उत्सवका रूपमा स्थापित गर्‍यो।

सम्मानित कलाकार प्रकाश पराजुली र अस्मिता डल्लाकोटीले जापानमा बसेर पनि नेपाली लोकदोहोरीप्रतिको माया र सम्मान देख्दा आफूहरू भावुक भएको प्रतिक्रिया दिएका छन्। 

यस्तै माया र साथले नेपाली संगीतलाई विश्वभर पुर्‍याउने थप प्रेरणा मिलेको उनीहरूको भनाइ थियो।

कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्नो पहिचान, भाषा र संस्कृतिसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट