August 13, 2026

भर्खरै

निर्वाचनअघि नै जित ! अञ्जु भण्डारीसहित एनआरएनए जापानका पाँच महिला उम्मेदवार निर्विरोध तर्फ

राम्रो पोष्ट २ साउन २०८२, शुक्रवार
निर्वाचनअघि नै जित ! अञ्जु भण्डारीसहित एनआरएनए जापानका पाँच महिला उम्मेदवार निर्विरोध तर्फ

टोकियो — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२ औं महाधिवेशन अन्तर्गत सम्पन्न उम्मेदवारी दर्तापछि केही पदमा महिला उम्मेदवारहरू निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । 

निर्वाचन समितिबाट सार्वजनिक प्रारम्भिक उम्मेदवार नामावलीअनुसार महिला उपाध्यक्ष पदमा अञ्जु भण्डारी एकल उम्मेदवारका रूपमा देखिएकी छन्।

त्यस्तैगरी, महिला सचिव पदमा ललिता तामाङ, महिला सह–कोषाध्यक्षमा कामना भण्डारी, महिला संयोजकमा मञ्जु बन र महिला सदस्यमा ईश्वरी अर्याल पनि प्रतिस्पर्धाविहीन उम्मेदवारका रूपमा देखा परेका छन्। 

यिनीहरू सबैको उम्मेदवारी वैधानिक रूपमा स्वीकृत भएमा निर्वाचन प्रक्रियाबाट निर्वाचित घोषणा गरिनेछ ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक सूचीमा प्रतिस्पर्धी नदेखिएका उम्मेदवारहरूमाथि दावी–विरोध वा उजुरी दर्ता गर्ने समय जुलाई १८ (शुक्रबार) सम्म कायम रहेको छ । उक्त समयावधिमा कुनै उजुरी नपरेमा जुलाई २० (आइतबार) मा अन्तिम उम्मेदवार सूची प्रकाशित हुनेछ ।

महिला सहभागिता र नेतृत्वको दृष्टिकोणले यो निर्वाचन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। संघको विभिन्न तहमा महिला उम्मेदवारहरू एकल रूपमा अगाडि देखिनु, भविष्यमा प्रवासी नेपाली महिलाहरूको भूमिका सशक्त हुँदै गएको संकेतको रूपमा हेरिएको छ ।

हाल सार्वजनिक नामावलीअनुसार, अञ्जु भण्डारीसहित पाँच महिला उम्मेदवार निर्विरोध निर्वाचित हुने सुनिश्चितप्रायः देखिएको छ। यद्यपि अन्तिम निर्णय निर्वाचन समितिबाट तोकिएको प्रक्रियापश्चात् मात्र आधिकारिक रूपमा घोषणा हुनेछ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट