September 10, 2026

भर्खरै

पोर्चुगलमा रहेका शेफ टंक सापकोटाद्वारा नेपालका बाढीपीडितलाई ५१ लाखभन्दा बढी सहयोग

राम्रो पोष्ट २५ भदौ २०८३, बिहिवार
पोर्चुगलमा रहेका शेफ टंक सापकोटाद्वारा नेपालका बाढीपीडितलाई ५१ लाखभन्दा बढी सहयोग

लिस्बन । पोर्चुगलमा रहेका चर्चित नेपाली शेफ टंक सापकोटा र उनको परिवारले नेपालका बाढीपीडितका लागि ५१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
सापकोटा परिवारले बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख ११ हजार १ सय ५१ सहयोग प्रदान गरेको हो। उक्त रकम करिब २९ हजार युरो बराबर रहेको जनाइएको छ।
विपद्को कठिन घडीमा मातृभूमि र पीडित समुदायसँग आफ्नो परिवारले जीवनबाट प्राप्त गरेको केही अंश बाँड्न पाउनु कर्तव्यसँगै मानवता, कृतज्ञता र आत्मसम्मानको विषय भएको शेफ सापकोटाले बताएका छन्।
नेपालमा जन्मिएर विगत करिब ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका सापकोटाले नेपालमा आएको विपत्तिप्रति आफू उदासीन रहन नसक्ने बताए। उनले नेपाल आफ्नो मातृभूमि, जन्मभूमि र पहिचानसँग जोडिएको देश भएकाले पीडित नेपालीको दुःखमा सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गरे।
सापकोटाले पोर्चुगिज नागरिकहरूले आफू, आफ्नो परिवार तथा व्यवसायप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै ग्राहक, साथीभाइ, शुभेच्छुक तथा विश्वभरका सहयोगी व्यक्तिहरूलाई पनि धन्यवाद दिएका छन्।
उनले पछिल्लो प्राकृतिक विपत्तिले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असरबारे गम्भीर प्रश्न उठाएको समेत बताएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट