हात समाएर स्वास्थ्य सेवासम्म नागरिकलाई पुर्याउँदै वडाध्यक्ष विनोद तामाङ
राम्रो पोष्ट
१ भदौ २०८३, सोमवार
दोलखा । जनप्रतिनिधि भनेको केवल कार्यालयमा बसेर योजना बनाउने व्यक्ति मात्र होइन, नागरिकको सुख–दुःखमा साथ दिने अभिभावक पनि हो भन्ने उदाहरण बनेका छन् भीमेश्वर नगरपालिका–७ का वडाध्यक्ष विनोद तामाङ।
वडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरका क्रममा वडाध्यक्ष तामाङले एक ज्येष्ठ नागरिकको हात समाउँदै स्वास्थ्य परीक्षणस्थलसम्म पुर्याएको दृश्यले सबैको ध्यान तानेको छ। हिँडडुल गर्न कठिनाइ भएका ज्येष्ठ नागरिकलाई सहारा दिँदै स्वास्थ्य सेवासम्म पुर्याएको उक्त दृश्यले जनप्रतिनिधिको नागरिकप्रतिको जिम्मेवारी र मानवीय पक्ष झल्काएको स्थानीयले बताएका छन्।
भीमेश्वर नगरपालिका–७ वडा कार्यालय र लियो क्लब धुलिखेलको संयुक्त आयोजनामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो।
शिविरमा हाडजोर्नी, जनरल ओपीडी, स्त्रीरोग, फिजियोथेरापी, भिडियो एक्सरे, छालारोग, दन्त तथा बालरोगसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। स्थानीयनागरिकले आफ्नै वडामा विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम भएको छ।
विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।
स्वास्थ्य शिविरमा ५१६ जना नागरिकले सेवा लिएका थिए भने स्वास्थ्य परीक्षणका क्रममा २१ जनालाई थप उपचार तथा शल्यक्रिया आवश्यक देखिएको थियो।
जनप्रतिनिधिको भूमिका भाषण र कार्यालयभित्र मात्र सीमित नभई नागरिकको हात समाएर आवश्यक सेवासम्म पुर्याउने पनि हुन सक्छ भन्ने सन्देश वडाध्यक्ष विनोद तामाङको यो कार्यले दिएको छ।

राम्रो पोष्ट