माउन्ट भ्याली एकेडेमीका संस्थापक तथा प्रिन्सिपल प्रकाश प्रधानको निधन
राम्रो पोष्ट
४ असोज २०८३, आइतवार
दोलखा । चरिकोटस्थित माउन्ट भ्याली एकेडेमीका संस्थापक तथा पूर्वप्रिन्सिपल प्रकाश प्रधानको उपचारका क्रममा भारतको शिलिगुडीमा निधन भएको छ।
प्रधानको असोज ३ गते शनिबार निधन भएको हो। लामो समयदेखि मधुमेह (सुगर) सम्बन्धी समस्याबाट पीडित प्रधानको पछिल्लो समय मिर्गौलामा समेत समस्या देखिएको थियो।
उपचारका लागि गत वैशाखमा शिलिगुडी पुगेका प्रधान बिरामी भएपछि नेपाल फर्किन सकेका थिएनन्। उपचारकै क्रममा उनको निधन भएको परिवारले जनाएको छ।
प्रधानले चरिकोटको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए। सन् २०४१ सालमा स्थापित जिल्लाकै पहिलो माउन्ट भ्याली एकेडेमीका संस्थापक तथा प्रिन्सिपलका रूपमा उनले लामो समयदेखि विद्यालयको नेतृत्व गर्दै आएका थिए।
परिवारका अनुसार प्रधानको पार्थिव शरीर आज बिहान ११ बजेसम्म चरिकोट बसपार्कस्थित घरमा ल्याइपुर्याइने भएको छ। परिवारले आफन्त, शुभचिन्तक तथा श्रद्धाञ्जली अर्पण गर्न चाहने सबैलाई बसपार्कस्थित घरमा उपस्थित हुन अनुरोध गरेको छ।
प्रधानको पार्थिव शरीरलाई सामाजिक तथा पारिवारिक परम्पराअनुसार चरिकोटमै अन्त्येष्टि गरिने तयारी रहेको बताइएको छ।
प्रधानको निधनले चरिकोटको शैक्षिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ।

राम्रो पोष्ट