अरोरा–सेन्टेनियलमा नेपाली समुदायको समर पिकनिक, सबै तयारी सम्पन्न
राम्रो पोष्ट
८ साउन २०८३, शुक्रवार
एलबि पाण्डे
कोलोराडो। अमेरिकाको कोलोराडो राज्यस्थित अरोरा तथा सेन्टेनियल क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गर्न लागेको वार्षिक समर पिकनिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
जुलाई २५, आइतबार दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सेन्टेनियल सेन्ट्रल पार्कमा हुने पिकनिक कार्यक्रममा करिब ४ सय नेपाली भाषीको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूका लागि राफल ड्र, चम्चा–गुच्चा, घैँटो फुटाइ लगायतका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। साथै नाचगान, सामूहिक भेटघाट, गफगाफ तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिने जनाइएको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ।
खाना व्यवस्थापन, आर्थिक, स्वयंसेवक तथा सरसफाइ, प्रचारप्रसार, कार्यक्रम सञ्चालन, खेलकुद तथा मनोरञ्जन र कार्यक्रमस्थल व्यवस्थापनका लागि छुट्टाछुट्टै संयोजक तोकिएको आयोजकले जनाएको छ।
आयोजक राजन सापकोटाले सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै अरोरा तथा सेन्टेनियल क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्। सन् २००६ देखि अरोरा तथा सेन्टेनियल क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले हरेक वर्ष समर पिकनिक कार्यक्रम आयोजना गर्दै आएको बताइएको छ।

राम्रो पोष्ट