सदस्यता र प्रतिनिधित्व विवादमा गुरुङ समाज जापानको सशक्त स्पष्टिकरण
टोकियो । गुरुङ समाज जापान (GSJ) ले नेपाल आदिवासी जनजाति महासंघ जापानको १९ औँ महाधिवेशनसँग सम्बन्धित सदस्यता, प्रतिनिधित्व तथा निर्वाचन प्रक्रियालाई लिएर सार्वजनिक रूपमा उठ्दै आएका प्रश्न, आरोप र भ्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
समाजले जारी गरेको प्रेस विज्ञप्तिमा २६ जनवरी २०२५ मा सम्पन्न महासंघको १९औँ महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको उल्लेख गर्दै उक्त महाधिवेशनमा गुरुङ समाज जापानको सहभागिता महासंघको विधान, निर्वाचन कार्यतालिका र निर्धारित प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेको छ।
अध्यक्ष युवराज गुरुङ र महासचिव मोती गुरुङको हस्ताक्षर रहेको विज्ञप्तिअनुसार महाधिवेशनअघि महासंघले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र सूचनाअनुसार गुरुङ समाज जापानले आफ्नो तर्फबाट प्रतिनिधित्व सुनिश्चित गरेको थियो। सोही क्रममा महासंघको विधानले तोकेको मापदण्डअनुसार सदस्यता, प्रतिनिधि छनोट तथा सहभागिता गरिएको समाजको दाबी छ।
गुरुङ समाज जापानले पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूमा समाजलाई लक्षित गरी सदस्यता र प्रतिनिधित्वका विषयमा लगाइएका आरोपहरू तथ्यहीन, आधारहीन र भ्रामक रहेको जनाएको छ। यस्ता गलत प्रचारले जापानस्थित आदिवासी जनजाति समुदायबीच भ्रम, अविश्वास र विभाजन सिर्जना गर्ने खतरा रहेको विज्ञप्तिमा उल्लेख छ।
समाजका अनुसार नेपाल आदिवासी जनजाति महासंघ जापानसँग गुरुङ समाज जापानको सम्बन्ध सुरुदेखि नै संस्थागत, सहकार्यपूर्ण र आपसी सम्मानमा आधारित रहँदै आएको छ। महासंघले जारी गरेको प्रवास संगठनसम्बन्धी नियमावलीको मर्मअनुसार नै समाजले आफ्नो भूमिका निर्वाह गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
अन्त्यमा गुरुङ समाज जापानले कुनै पनि संस्थागत विषयमा मतभेद भए संवाद, छलफल र विधिसम्मत प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै सम्पूर्ण सरोकारवालालाई संयमित, तथ्यमा आधारित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ।
