लोकप्रिय गायकहरू अनिल लामा, कर्मा डोङ, जनक थोकरको वेजोड प्रस्तुति रहने

जनवरी १८ शिन्जुकुमा सोनाम ल्होछार–२०२६, विश्व दोङ–जितु लोप्चनको लाइभ शोले ८ सहर तताउने

२७ पुष २०८२, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
२७ पुष २०८२, आइतवार

टोकियो — जापानमा रहेका तामाङ समुदायका लागि सन् २०२६ को सोनाम ल्होछार विशेष उत्सवका रूपमा मनाइने भएको छ। यसको मुख्य तथा केन्द्रिय कार्यक्रम आगामी जनवरी १८, २०२६ (आइतबार) टोकियोको शिन्जुकु सिटीस्थित कार्यक्रम हलमा भव्य रूपमा आयोजना गरिने आयोजकले जनाएको छ।शिन्जुकुमा हुने यो कार्यक्रमलाई जापानभर सञ्चालन हुने सोनाम ल्होछार सांस्कृतिक यात्राको केन्द्रबिन्दुका रूपमा लिइएको छ।

यस अवसरमा चर्चित गायक विश्व दोङ र लोकप्रिय गायिका जितु लोप्चनको लाइभ सांगीतिक प्रस्तुति रहनेछ, जसले ल्होछार उत्सवलाई अझै आकर्षक बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा जापानमै बसोबास गर्ने लोकप्रिय गायकहरू अनिल लामा, कर्मा डोङ, जनक थोकरका साथै, जापानमा सक्रिय विभिन्न गायक–गायिका र डान्सरहरुको सहभागिता रहने तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङलो जानकारी दिए। उनका अनुसार विश्व दोङ र जितु लोप्चनको लाइभ शो सहितको सोनाम ल्होछार कार्यक्रम जापानका ८ प्रमुख सहरहरूमा आयोजना हुनेछ।

कार्यक्रम तालिका अनुसार जनवरी १७ मा कितो (कान्तो), जनवरी १८ मा टोकियो, जनवरी १९ मा ओकिनावा, जनवरी २० मा क्युश्यु, जनवरी २४ मा सेन्दाई, जनवरी २५ मा शिजुओका, जनवरी ३० मा ओसाका र जनवरी ३१ मा नागोयामा ल्होछार सांस्कृतिक कार्यक्रम हुने तय भएको छ।

विशेषगरी टोकियोको शिन्जुकु सिटीमा हुने मुख्य कार्यक्रममा तामाङ संस्कृतिको झल्को दिने परम्परागत भेषभूषा, नृत्य, गीत–संगीत र सामूहिक उत्सवको दृश्य देखिने आयोजकले जनाएको छ।

कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।तामाङ सामज जापानका उपाध्यक्ष गीर बहादुर तामाङका अनुसार सोनाम ल्होछार केवल नयाँ वर्षको पर्व मात्र नभई, प्रवासमा रहेका तामाङ समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने सांस्कृतिक अभियान हो।

जापानभर विभिन्न सहरमा कार्यक्रम आयोजना हुनु तामाङ संस्कृतिको अन्तर्राष्ट्रिय विस्तारको संकेत भएको उनीहरूको भनाइ छ।कार्यक्रमका लागि नर्मल टिकट ५,००० येन र भिआईपी टिकट १०,००० येन तोकिएको छ। आयोजकले सबै जापानबासी नेपालीलाई जनवरी १८ मा शिन्जुकु सिटीमा उपस्थित भई सोनाम ल्होछार–२०२६ को मुख्य उत्सवमा सहभागी हुन आग्रह गरेका छन्।

.