१२५२ सालको विशाल बुद्धः जापानमा २० करोड पर्यटक – लुम्बिनीको सपना कहिले?
कैलाश लामा, सम्पादक
टोकियो। जापानको ऐतिहासिक सहर कामाकुरा विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ। शताब्दीयौँको इतिहास बोकेको विशाल मूर्ति, प्राकृतिक विपत्तिका बाबजुद पनि अडिग उभिएको छ, र यसको मौन भव्यताले यहाँ आउने प्रत्येक व्यक्तिको मनमा शान्ति र गहिरो भाव जगाउँछ।
१२५२ मा निर्माण गरिएको यस मूर्ति, सुरुमा भवनभित्र राखिएको भए पनि भूकम्प र आँधीको सामना गर्दै खुला आकाशमुनि उभिँदा यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व अझै प्रकट भएको छ। स्थानीयहरू यसलाई सांस्कृतिक, आध्यात्मिक र ध्यानको प्रतीकको रूपमा मान्छन्।
वार्षिक करिब २० करोड पर्यटक यहाँ भ्रमण गर्छन्। अनुमानअनुसार उनीहरूको औसत खर्च १६० अर्ब जापानी येन पुग्छ। मुख्य आगन्तुकहरू चीन, दक्षिण कोरिया, अमेरिका, ताइवान, थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया र सिंगापुरबाट आउँछन्। दैनिक हजारौँ पर्यटकले यहाँको वातावरण अनुभव गर्दा स्थानिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्। पर्यटकहरू दर्शन गर्दा शान्ति, ध्यान र आध्यात्मिक अनुभूति प्राप्त गर्ने विश्वास राख्छन्। यसको मौनता, भव्यता र ऐतिहासिक गरिमा जापानमा सदियौँसम्म श्रद्धासाथ पालिएको छ। कामाकुराको आध्यात्मिक महत्त्व बुझ्दा हामी साक्यमुनि बुद्ध र अमिताभ बुद्धको क्रम र भूमिकालाई पनि सम्झन सकिन्छ।
इतिहासको दृष्टिले साक्यमुनि बुद्ध पहिला, तर धर्म/दार्शनिक अवधारणाको दृष्टिले अमिताभ बुद्ध पछि विकसित सिद्धान्त र विश्वास हुन्। कामाकुराको मूर्ति जस्ता स्थलले यही भावलाई जीवन्त बनाउँछन्—इतिहास, दर्शन, श्रद्धा र आध्यात्मिक अनुभवलाई सँगसँगै अनुभव गराउन। नेपालसँग तुलना गर्दा, यदि लुम्बिनी र अन्य ऐतिहासिक स्थलहरूलाई कामाकुरा जस्तो व्यवस्थित, आकर्षक र विश्वव्यापी प्रचार गरिएको हुने हो भने, यहाँको पर्यटनले ठूला आर्थिक लाभ, अन्तर्राष्ट्रिय मान्यता र सांस्कृतिक गर्व दुवै हासिल गर्न सक्थ्यो। कामाकुराको उदाहरणले प्रमाणित गर्छ कि ऐतिहासिक र सांस्कृतिक सम्पदालाई सही संरक्षण, प्रचार र व्यवस्थापनले विश्वव्यापी आकर्षण र आर्थिक समृद्धिमा रूपान्तरण गर्न सकिन्छ।
