तमु ल्होछार २०२६ : जापानका नेपाली पत्रकार शान्त पहरी र फुर्बा शेर्पालाई सम्मान
टोकियो — गुरुङ समाज जापानले दोस्रो तमु ल्होछार २०२६ को अवसरमा जापानमा क्रियाशील नेपाली पत्रकार शान्त पहरी र फुर्बा शेर्पालाई सम्मान गरेको छ। शुक्रबार टोकियोमा सम्पन्न कार्यक्रममा पत्रकारितामार्फत जापानस्थित नेपाली समुदायमा पुर्याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको हो।
सम्मानित पत्रकार शान्त पहरी नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष तथा मातृसन्देश डट कमका प्रधान सम्पादक हुनुहुन्छ। त्यस्तै, फुर्बा शेर्पा आफ्नै न्युज डट कमका प्रधान सम्पादक हुनुका साथै नेपाल पत्रकार महासंघ जापान शाखाका सह–सचिव हुनुहुन्छ।
कार्यक्रममा तमु ल्होछारको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै गुरुङ समुदायको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा र प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
उल्लेखनीय जनसहभागिता र उत्साहपूर्ण वातावरणबीच कार्यक्रम सम्पन्न भएको जानकारी गुरुङ समाज जापानका अध्यक्ष युभराज गुरुङले दिनुभयो।
उहाँले जापानमा रहेका गुरुङ समुदायबीच एकता, आपसी सद्भाव तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
