October 2, 2026

भर्खरै

जापानमा आजदेखि ३ हजारभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य बढ्दै

राम्रो पोष्ट १५ असोज २०८३, बिहिवार
जापानमा आजदेखि ३ हजारभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य बढ्दै

टोकियो । जापानमा आज अक्टोबर १ देखि ३ हजार १५३ प्रकारका खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भएको छ। प्याकेजिङ सामग्रीको लागत बढ्नु, मध्यपूर्वको द्वन्द्वका कारण कच्चा तेल तथा नाफ्थाको मूल्यमा वृद्धि हुनु र जापानी येन कमजोर हुनुले कम्पनीहरूले उपभोक्तामाथि थप लागत सार्न थालेका हुन्।
अनुसन्धान संस्था तेइकोकु डाटाबैंकका अनुसार अक्टोबरमा खाद्य तथा पेय पदार्थसँगै बाहिर खाना खाने, मनोरञ्जन तथा विभिन्न उपयोगिता सेवाको खर्चसमेत बढ्नेछ। सेप्टेम्बरमा पनि जापानमा ४ हजार ९६५ प्रकारका वस्तुको मूल्य वृद्धि भएको थियो।
सन् २०२६ मा मूल्य बढेका वा बढ्ने तयारीमा रहेका खाद्य तथा पेय पदार्थको संख्या २० हजार १८७ पुगेको छ। यो लगातार दोस्रो वर्ष २० हजारभन्दा माथि पुगेको हो।
अक्टोबरमा मूल्य वृद्धि हुने वस्तुमध्ये मादक तथा अन्य पेय पदार्थ १ हजार ३९९, मसला तथा सिजनिङ ८२० र प्रशोधित खाद्य पदार्थ ६६८ वटा छन्।
यस्तै, प्रमुख बियर उत्पादकहरूले हाप्पोसुजस्ता कम अल्कोहलयुक्त बियर तथा सस्ता बियरजन्य पेय पदार्थको मूल्य बढाएका छन्। मदिरा करको दर वृद्धि पनि मूल्य बढ्नुको एउटा कारण रहेको बताइएको छ।
याकितोरी चेन तोरीकिजोकुले आफ्नो समान मेनु मूल्य ३९० येनबाट बढाएर ४१० येन पुर्‍याएको छ। त्यस्तै, टोकियो डिज्नी रिसोर्ट सञ्चालन गर्ने ओरिएन्टल ल्यान्ड कम्पनीले पनि अक्टोबरदेखि अधिकतम प्रवेश शुल्क बढाएको छ।
यससँगै जापानका १० वटै प्रमुख विद्युत् कम्पनीले अक्टोबरमा खपत हुने घरायसी विद्युत्को महसुल बढाएका छन्। सामान्य घरपरिवारका लागि विद्युत् शुल्कमा अधिकतम १ हजार ५७८ येनसम्म वृद्धि हुने बताइएको छ।
प्रमुख सहरका ग्यास आपूर्तिकर्ताहरूले पनि अक्टोबरदेखि ग्यासको महसुल बढाएका छन्। यससँगै दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो मूल्यले जापानमा रहेका परिवारको मासिक खर्चमा थप दबाब पर्ने देखिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट