जापानमा विदेशी पर्यटकको बसाइँ नयाँ उचाइमा, ३९ प्रिफेक्चरले तोडे कोरोना अघिको रेकर्ड
राम्रो पोष्ट
३० साउन २०८३, शनिवार
टोकियो। जापानमा विदेशी पर्यटकको आगमनसँगै उनीहरूले बिताउने रातको संख्या पनि कोरोना महामारीअघिको स्तरभन्दा उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मा विदेशी पर्यटकले जापानभरका होटल तथा जापानी शैलीका र्योकानमा गरी करिब १७ करोड ९९ लाख २० हजार रात बिताएका छन् भन्दै जापान टाइम्समा खबर प्रकाशित भएको छ।
यो संख्या सन् २०१९ अर्थात् कोरोना महामारीअघिको तुलनामा ५५.६ प्रतिशतले बढी हो।
जापान पर्यटन एजेन्सीले सार्वजनिक गरेको सर्वेक्षणअनुसार देशका ४७ प्रिफेक्चरमध्ये ३९ वटा प्रिफेक्चरमा विदेशी पाहुनाले बिताएको रातको संख्या कोरोना अघिको स्तरभन्दा माथि पुगेको छ।
एहिमेमा सबैभन्दा ठूलो वृद्धि
विदेशी पर्यटकको बसाइँमा सबैभन्दा उल्लेखनीय वृद्धि एहिमे प्रिफेक्चरमा देखिएको छ। सन् २०२५ मा यहाँ विदेशी पाहुनाले करिब ५ लाख ८० हजार रात बिताएका छन्, जुन सन् २०१९ को तुलनामा २.७ गुणा बढी हो।
त्यसपछि इशिकावा प्रिफेक्चरमा २.२ गुणा वृद्धि भएको छ। यहाँ विदेशी पर्यटकको बसाइँ करिब २१ लाख ४० हजार रात पुगेको छ।
जापानको सबैभन्दा लोकप्रिय गन्तव्यमध्ये एक टोकियोमा विदेशी पर्यटकको बसाइँ दोब्बर भएको छ। सन् २०२५ मा टोकियोमा मात्रै विदेशी पाहुनाले ६ करोड १ लाख २० हजार रात बिताएका छन्।
केही क्षेत्रमा भने अझै कमी
सबै प्रिफेक्चरमा विदेशी पर्यटकको संख्या बढेको भने छैन।
सागा प्रिफेक्चरमा सबैभन्दा धेरै गिरावट देखिएको छ। यहाँ विदेशी पर्यटकको बसाइँ सन् २०१९ को तुलनामा ३० प्रतिशतले घटेको छ।
त्यसपछि शिगामा २७.३ प्रतिशत र मियाजाकीमा १९.४ प्रतिशत कमी आएको तथ्यांकले देखाएको छ।
गल्फ पर्यटनले एहिमेलाई फाइदा
एहिमे प्रिफेक्चरले सन् २०२३ देखि गल्फ पर्यटनको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको थियो। कोरोना महामारीका बेला दक्षिण कोरियामा गल्फको लोकप्रियता बढे पनि त्यहाँको कडा जाडो र महँगो शुल्कका कारण धेरै पर्यटक जापानतर्फ आकर्षित भएको बताइएको छ।
सन् २०२५ मा एहिमेमा बस्ने दक्षिण कोरियाली पर्यटकको संख्या करिब २ लाख ४ हजार पुगेको छ, जुन सन् २०१९ को तुलनामा झण्डै ६ गुणा बढी हो।
मात्सुयामा विमानस्थलबाट एक घण्टाको दूरीभित्रै १६ वटा गल्फ कोर्स रहेकाले पर्यटकले गल्फ खेल्नुका साथै आसपासका पर्यटकीय स्थलको भ्रमण गर्न पनि सहज भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
टोकियो–क्योटो बाहिर पनि बढ्दै आकर्षण
जापान पटक–पटक भ्रमण गरिसकेका विदेशी पर्यटक अहिले टोकियो र क्योटोमा मात्र सीमित नरही क्षेत्रीय शहर तथा नयाँ गन्तव्यतर्फ आकर्षित हुन थालेका छन्।
इशिकावा प्रिफेक्चरको कानाजावा शहर, प्रसिद्ध केनरोकुएन बगैंचा र ऐतिहासिक शहरका कारण पहिलेदेखि नै विदेशी पर्यटकमाझ लोकप्रिय थियो। सन् २०१५ मा होकुरिकु शिन्कान्सेन कानाजावासम्म विस्तार भएपछि यस क्षेत्रमा पुग्न झनै सहज भएको छ।
पर्यटन अधिकारीहरूका अनुसार कोरोना महामारीपछि जापान आउने विदेशी पर्यटकको संख्या मात्र होइन, टोकियो र क्योटोबाहेकका क्षेत्रीय गन्तव्य रोज्ने प्रवृत्ति पनि तीव्र रूपमा बढिरहेको छ।
जापानको पर्यटन क्षेत्र महामारीको प्रभावबाट पूर्ण रूपमा उकासिँदै जाँदा विदेशी पर्यटकको खर्च र बसाइँ अब देशका विभिन्न क्षेत्रसम्म फैलिन थालेको देखिएको छ।

राम्रो पोष्ट