एनआरएनए अमेरिकामा गाइजात्रा : तीन अध्यक्षको विवादले मन्त्री गुप्ताको भ्रमण रद्द
काठमाडौं । अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको गुटगत विवाद चर्किँदै जाँदा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण अन्ततः रद्द भएको छ। एनआरएनए अमेरिकामा हाल तीन फरक–फरक समूह र अध्यक्ष सक्रिय रहेकाले कसको निम्तो आधिकारिक भन्ने प्रश्नले मन्त्रीको भ्रमण नै विवादमा तानिएको हो।
विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहले टेक्सासको डलासमा आयोजना गर्न लागिएको ‘जेन–जी आन्दोलनपछि नेपाल विकासमा युवाको भूमिका’ विषयक कार्यक्रममा मन्त्री गुप्तालाई आमन्त्रण गरेको दाबी गरेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई आफूहरूले नबोलाएको भन्दै विज्ञप्ति निकाल्दै कार्यक्रमको वैधतामाथि प्रश्न उठाएको थियो।
एनआरएनए अमेरिकामा अहिले तीन अध्यक्ष देखिएपछि संगठनको आधिकारिकता नै गाइजात्राजस्तै बनेको टिप्पणीसमेत हुन थालेको छ। यही अन्योल, समय अभाव र भिसा प्रक्रियाका कारण मन्त्री गुप्ताले हाललाई अमेरिका भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्। एनआरएनएभित्रको आन्तरिक विवादले अन्तर्राष्ट्रिय तहमा नेपालको छविमा असर पर्ने चिन्ता पनि बढ्दै गएको छ।
