२०२८ सालको भोकमरी पीडितको सेवाबाट राजनीति यात्रा सुरु गरेका पाख्रिन प्रतिनिधि सभातर्फ

१२ पुष २०८२, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१२ पुष २०८२, शनिवार

दोलखा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि अनुभवसिद्ध राजनीतिज्ञ नरबहादुर पाख्रिनलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ। 

पाख्रिनको लामो अनुभव, राजनीतिक साख र जनसेवामा योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले उनलाई प्रतिनिधि सभा निर्वाचनको खुला क्लस्टरबाट उम्मेदवार बनाइएको हो।

कालिञ्चोक–१, निवासी पाख्रिन २०२१ सालमा जन्मिएका हुन्। उनका राजनीतिक जीवनको शुरुवात २०२८ सालमा कक्षा २ मा पढ्दै गर्दा नै भएको थियो।

तत्कालीन २ नम्बर दोलखा जिल्लामा भोकमरीको अवस्था विकराल भएपछि उनले आफ्ना बुबासँगै तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टसंग सहयोग मागे र नेपाल खाद्य संस्थानबाट ३ ट्रक चामल ल्याएर दोलखाका भोकमरी पीडित जनतालाई वितरण गरे। 

सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा प्रति घरधुरी ४ पाथी चामल वितरण गरिएको यस कार्यले दोलखामा स्थायी राहतको मार्ग खोल्यो। त्यसपछि सरकारले दोलखामा निरन्तर चामल सहयोगको व्यवस्था पनि सुरु गर्यो। यसरी पाख्रिनको जनसेवा यात्रा यहीँबाट प्रारम्भ भएको थियो।

राजनीतिक करिअरमा पाख्रिनले बहुदल युगदेखि सक्रिय भूमिका निभाएका छन्। उनी २७ वर्ष राप्रपामा रहे, सो पार्टीको दोलखा जिल्ला अध्यक्ष १५ वर्ष बने, र राप्रपाको केन्द्रीय सदस्यको रूपमा ५ वर्ष सेवा गरे। 

२०७३ सालमा तत्कालीन माओवादी केन्द्रमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरी १० वर्ष सक्रिय भूमिका निर्वाह गरेका उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवारलाई विजयी बनाउन निर्णायक भूमिका खेलेका थिए। 

त्यतिबेला उनले कालिञ्चोक–१ बाट मात्रै १,१६० मत खसालेर चुनाव परिणाममा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

पाख्रिनको जीवन राजनीति र जनसेवामा समर्पित छ। २०३८ सालमा कामदारहरुलाई गहुँ वितरण गरेका र २०४८ सालमा विभिन्न राजनीतिक मुद्दामा संलग्न भएर २४ दिन प्रहरी हिरासतमा बसेका उनले कहिल्यै आफ्नो लक्ष्य नछाड्ने प्रतिबद्धता देखाएका छन्। 

दोलखाका राजनीतिक विश्लेषकहरूले पाख्रिनको अनुभव, स्थायित्व र स्थानीय समुदायसँगको नजिकको सम्बन्धलाई दोलखा निर्वाचनमा निर्णायक कारकको रूपमा हेरिरहेका छन्।

पाख्रिनसंगै नेकपा दोलखाबाट प्रत्यक्ष तर्फ विशाल खड्का, गोपाल न्यौपाने, र नवयुवा क्लस्टरबाट जेविन सर्वहारा, नवयुवा महिला क्लस्टरबाट रुरल एम लगायतका उम्मेदवार सिफारिस भएका छन्। 

समानुपातिकतर्फ भने महेंद्रबहादुर कार्की, चुनु केसी, रिता सिमाल, संगिता तामाङ, शान्ता कार्की थामी, दीपक धनुके, टिकाराम दिवाली, सोम तामाङ, पासाङ शेर्पा, छिरिङ शेर्पा सिफारिस भएका छन्।

सिफारिस गरिएका उम्मेदवारको अन्तिम निर्णय पार्टी केन्द्रीय कमिटीले गर्नेछ।

.