September 28, 2026

भर्खरै

हिउँ हराउँदैछ जापानबाट? प्राकृतिक हिउँमा चल्ने स्की रिसोर्ट ७ वटामा सीमित हुन सक्ने

राम्रो पोष्ट ११ असोज २०८३, आइतवार
हिउँ हराउँदैछ जापानबाट? प्राकृतिक हिउँमा चल्ने स्की रिसोर्ट ७ वटामा सीमित हुन सक्ने

साप्पोरो । जापानमा हिउँ पर्ने क्रम घट्दै गए प्राकृतिक हिउँमै निर्भर स्की रिसोर्टको भविष्य संकटमा पर्न सक्ने देखिएको छ। नयाँ अध्ययनले ग्लोबल वार्मिङ निरन्तर बढ्दै गएमा जापानभर प्राकृतिक हिउँ प्रयोग गरेर मात्र सञ्चालन गर्न सक्ने स्की रिसोर्टको संख्या ७ वटामा सीमित हुन सक्ने चेतावनी दिएको छ।
होक्काइदो विश्वविद्यालय र Forest Research and Management Organization का अनुसन्धानकर्ताले जापानभर लिफ्ट वा गोन्डोला सञ्चालनमा रहेका ३४९ वटा स्की रिसोर्टको अवस्थाबारे अध्ययन गरेका हुन्। अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण भविष्यमा हिउँ पर्ने अवस्था कसरी परिवर्तन हुन सक्छ भन्ने आधारमा विभिन्न सम्भावित परिस्थितिको विश्लेषण गरेका छन्।
अध्ययनमा औद्योगिक युग सुरु हुनुअघिको तुलनामा विश्वको औसत तापक्रम २ डिग्री सेल्सियस र ४ डिग्री सेल्सियसले बढ्ने दुई अवस्थालाई आधार बनाइएको थियो। प्राकृतिक हिउँ प्रयोग गरेर वर्षमा कम्तीमा १०० दिन स्की सञ्चालन गर्न सक्ने रिसोर्टलाई सञ्चालनयोग्य मानिएको थियो।
यदि विश्वको तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा ४ डिग्री सेल्सियसले बढ्यो भने जापानका अधिकांश स्की रिसोर्टमा प्राकृतिक हिउँ पर्याप्त नहुने अध्ययनको निष्कर्ष छ। यस्तो अवस्थामा होक्काइदो, अकिता, यामागाता, गुन्मा र नागानो प्रिफेक्चरमा रहेका गरी केवल ७ वटा रिसोर्ट मात्रै प्राकृतिक हिउँमा वर्षमा १०० दिन सञ्चालन गर्न सक्ने अवस्थामा रहने अनुमान गरिएको छ।
त्यसैगरी २६ वटा रिसोर्ट आंशिक रूपमा मात्रै सञ्चालनयोग्य रहने देखिएको छ। आओमोरी, निगाता र गिफुलगायतका क्षेत्रमा रहेका केही रिसोर्ट पनि यसबाट प्रभावित हुनेछन्।
अनुसन्धानकर्ताका अनुसार उच्च उचाइ र उच्च अक्षांशमा रहेका स्की रिसोर्ट तुलनात्मक रूपमा बढी समयसम्म सञ्चालनयोग्य रहन सक्ने सम्भावना छ। तर तापक्रम वृद्धि बढ्दै गएमा त्यस्ता क्षेत्रसमेत प्रभावित हुन सक्नेछन्।
अर्कोतर्फ, तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभित्र सीमित गर्न सकिएमा अवस्था केही फरक हुने अनुमान गरिएको छ। त्यस अवस्थामा करिब ५३ वटा रिसोर्ट पूर्ण रूपमा र थप १०८ वटा रिसोर्ट आंशिक रूपमा सञ्चालनयोग्य रहने अध्ययनले देखाएको छ।
स्की रिसोर्टमा हुने परिवर्तनले केवल मनोरञ्जन वा खेलकुदमा मात्र असर पार्ने छैन। जापानका धेरै पहाडी तथा ग्रामीण क्षेत्रमा स्की पर्यटन रोजगारी, होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। प्राकृतिक हिउँको कमीले यी क्षेत्रको पर्यटन व्यवसायमा समेत असर पर्न सक्ने चिन्ता गरिएको छ।
होक्काइदो विश्वविद्यालयकी पर्यटन संस्कृति विषयकी लेक्चरर नाओ योशिजावाका अनुसार स्की रिसोर्टसँग जोडिएको रोजगारी र स्थानीय संस्कृति नै हराउने जोखिम हुन सक्छ। उनका अनुसार जलवायु परिवर्तनसँग अनुकूलन गर्न प्रत्येक क्षेत्रले आफ्नो भविष्यबारे समयमै योजना बनाउन आवश्यक छ।
अध्ययनले जापानको स्की पर्यटनका लागि हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयाससँगै जलवायु परिवर्तनअनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
यसले जापानका लागि एउटा ठूलो प्रश्नसमेत खडा गरेको छ—भविष्यमा जापानका पहाडमा प्राकृतिक हिउँ कति बाँकी रहला?

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट