विश्वचर्चि नेपाली क्रिकेटर सन्दीप लामिछानेको जिवनी पाठ्यक्रममा समावेश

४ भदौ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
४ भदौ २०८०, सोमवार

काठमाडौं । कम खेलमानै १०० विकेट लिने विश्वका पहिलो बलर बन्न सफल नेपाली क्रिकेटर लामिछानेको जीवनी विद्यालयमा पढ्न पाउने भएका छन्।
स्पिन गुग्ली बलरले परिचित विश्वका चर्चि क्रिकेटर लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेसंगै पढ्न पाउने भएका हुन्।
गाउँपालिकाले कक्षा–४ का विद्यार्थीलाई अध्यापन गराउन बनाएको स्थानीय पाठ्यक्रमको पहिलो पेजमै लामिछानेको जीवनी समावेश गरेको छ ।
उक्त पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि लागु हुने गरि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका लागि पहिलो पटक स्थानीय पाठ्यक्रम बनाएकोमा क्रिकेटर लामिछानेको जीवनीलाई विशेष प्राथमिकता दिइएको छ।
स्थानीय पाठ्यक्रममा लामिछानेको जीवनी लेखेका पाठ्यपुस्तक भने अहिलेसम्म विद्यार्थीलाई वितरण गरिनसकेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।
“लामिछानेको जीवनी समेटिएको पाठ्यपुस्तक अध्यापन गराउने कि नगराउने विषय सरकार वा अदालतले गर्ने निर्णयअनुसार अघि बढ्ने छौँ।” उनले भने।
क्रिकेटर लामिछाने २०५७ साल साउन १८ गते अर्जुनचौपारी गाउँपालिकामा जन्मिएका थिए ।
लामिछाने विश्व प्रसिद्ध क्रिकेटर बनेसंगै गाउँपालिकाले उनको जीवनीलाई प्रेरणाको स्रोतको रुपमा पाठ्यक्रममा समावेश गरिएको बताउदै अध्यक्ष तिवारीले भने “उक्त जीवनी पढेपछि विद्यार्थीले लामिछानेको परिचय दिन सक्ने सिकाइ उपलब्धी हासिल हुने अपेक्षा गरेका छौ।”
पाठ्पुस्तक तयार गर्दा विज्ञसँग सल्लाह लिँदा लामिछानेको जीवनी राख्न उचित हुने सुझाव पाएको पनि उनले बताए।
“अर्जुनचौपारी जस्तो गाउँमा जन्मिएर पनि विश्व चर्चित हुन सकिन्छ भनेर विद्यार्थीले प्रेरणा पाओस् भनेर हामीले उनको जीवनी राखेका हौं,” उनले भने।
स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल, संस्कृति, भाषा, ज्ञान, सीपलगायत विषय समेट्न सकिने व्यवस्था गरेको छ। व्यवस्था अनुसार अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत भइसकेका दायाँ हाते स्पिन गुग्ली बलर, लामिछानेले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, बिग ब्यास लिगमा होबार्ट हुरिकेन र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर सहित विश्वभर आयोजना हुने प्रमुख टि-ट्वान्टी खेल प्रतियोगिताहरूमा खेल्ने गर्दछन्।
सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिज विरुद्ध टि २० मा पदार्पण गरेका थिए। संयुक्त टोलीको प्रतिनिधित्व गर्दै टि २० अन्तर्राष्ट्रिय पदार्पण गर्ने उनी पहिलो नेपाली क्रिकेट खेलाडी समेत हुन्। उनी सन् २०१८ अगस्तमा नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने एघार क्रिकेट खेलाडी मध्ये एक थिए ।
सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेट खेलसँग परिचय भएको थियो। सन्दिपले चितवनको नारायणगढ स्थित चितवन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकेका थिए। जहाँ उनलाई पूर्व कप्तान राजु खड्काले क्रिकेट सिकाएका थिए। तात्कालिक राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा प्रशिक्षणको लागि आएको बेलामा उनी सन्दिपको बलिङबाट प्रभावित हुँदै १९ वर्ष मुनिको टोलीमा छनोट गरेका थिए।