पैदलमार्ग निर्माणले खरीढुङ्गाका स्थानीयको दैनिकीमा सहज

२ भदौ २०८०, शनिवार रविता महत
रविता महत
२ भदौ २०८०, शनिवार

चरिकोट । गाउँमा निर्माण भएको पक्की पैदलमार्गमा हिड्डुल गर्न पाउँदा दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर -२ झुलेका घन कुमार कार्की हिजोआज खुशी छन्।
खरीढुङ्गा गाउँका ६१ वर्षीय कार्कीलाई आफ्नो गाउँदेखि हल्लाीनी ढुङ्गा जोड्ने पैदल मार्ग निर्माणले दैनिक जीवनमा सहज बनाएसंगै खुशी मिलेको हो।
आवश्यक ठाउँमा नाला कटान गरि बनाईएको पक्की पैदलमार्गमा रातीको समय पनि सहजै हिड्न सकिने भएकाले दिनचर्यानै सहज बनाएको कार्की बताउँछन्।
गाउँको माथिल्लो भेगमा रहेको देविथान, पालिकाकै प्रसिद्ध धार्मिक स्थल हल्लिनी ढुङ्गा मन्दिरमा जान र सो पैदलमार्ग हुँदै जिरी आउजाउ गर्न समेत सजिलो भएको उनि बताउँछन्।
संघिय सरकार अन्तर्गत पर्यटन बोर्डको १५ लाख रुपियाको लगानीमा हाल करिब एक किलोमिटर पैदल मार्गको निर्माण गरिएको छ।खरिढुङ्गादेखि प्रसिद्ध धार्मिक स्थल हल्लिनी ढुङ्गासम्म पैदलमार्ग निर्माण योजना रहेपनि हालको बजेटले देविथानसम्म करिब एक किलोमिटर पैदलमार्ग निर्माण गरिएको हो।
वडा नम्वर- २ का वडा सदस्य समेत रहेका स्थानिय नर वहादुर कार्कीका अनुसार पैदलमार्ग निर्माणले वडा नम्वर २ खरीढुङगाका करिब ४५ घरधुरी लाभान्वित भएका छन्।
गाउँको धार्मिक स्थल आउजाउदेखि दैनिक घासदाउरा गर्नका लागि प्रयोग भइरहेको उक्त बाटो निर्माणले स्थानीयको दैनिकीमा परिवर्तन ल्याएको उनले बताए।
“जिरी जानका लागि समेत प्रयोग हुने पुरानो गोरेटो बाटो कच्ची हुँदा यात्रा गर्न असहज भएपनि बाटो पक्की बनाएसंगै हिडडुल गर्न सहज भएको छ“ वडा सदस्य कार्कीले भने “अब हल्लिने ढुङ्गासम्मनै पक्की बाटो निर्माणका लागि आवश्यक पहल गर्छु।"