एभरेष्ट इन्टरनेशल स्कुल आराकावा शाखाको उद्धाटन

५ जेठ २०८२, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
५ जेठ २०८२, सोमवार

टोकियो। जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल आराकावा शाखाको भव्य समारोहको साथमा उद्धाटन गरिएको छ ।

मे १७ तारिख शनिवार भव्य समारोहको साथमा एभरेष्ट इन्टरनेशनल स्कुल आराकावा शाखाको उद्धाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदी, लगाएतका अतिथिहरुले संयुक्त रुपमा रिवन काटेर उद्धघाटन गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष किरण विक्रम थापाले जानकारी दिनुभयो ।

उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत डा. सुवेदीले नेपाली समुदायका बालबालिका केन्द्रित विद्यालयको उन्नति, प्रगतिकोलागि  सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालको लागि जापानको पूर्व राजदूत एवम जापान नेपाल समजाका अध्यक्ष, मित्सुकी कोजिमा, टोकियो महानगरका विदेशी नागरिक सेफ्टी विभागका म्यानेजर सिनिजिरो सिमिजु, आराकाव वार्ड र सुगिनामी वार्डका गर्भनरहरु यामागुचि कोहिचिरो र फुजियो वातानावे, टोकियो महानगरका पुलिस विभागका युया साकुरागी र कोहिय होण्डा, टोकियो विश्व विद्यालयक सेन्टर फर ग्लोवल एजुकेनकी प्रोफेसर ताकाको हिकोतानीको र एनआरएनए जापानको अध्यक्ष नविन निउरे लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरि नेपालबाट अनलाइनमार्फत कार्यक्रममा जोडिनुभएका नेपाल सरकारका पूर्व शिक्षा सचिव एवं हाल राष्ट्रिय परिक्षा वोर्ड नेपालका अध्यक्ष डा.महाश्रम शर्माले नेपालको कला संस्कृतिलाई विश्वव्यापीकरण गर्नका लागि एभरेष्ट स्कुलले महत्वपूर्ण भुमिका निभाएको बताउनुभयो ।

एभरेष्ट स्कुल कक्षा १० र कक्षा १२ को परिक्षाकेन्द्र समेत तोकिएको नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एकमात्र विद्यालय भएको बताउँदै उहाँले अबउपरान्त नेपाल बाहिर खोलिने नेपाली पाठ्यक्रममा आधारित विद्यालयका लागि समेत मोडल स्कुलको रुपमा विकसित गरिने बताउनुभयो ।

त्यसैगरि जापानी मुलका नेपाली साहित्यकार हारुहितो नोजुले एभरेष्ट स्कुलले नेपाली भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

अध्यक्षद्वय किरण बिक्रम थापा र दिपक सुवेदीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकका सल्लाहकार जीज्ञानकुमार थापाले जापानको विकास निमार्णमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। जापानी कला,संस्कृति र भाषासम्बन्धि जानकार व्यक्तित्व समेत रहनुभएका थापाले जापानमा रहेका नेपालीहरुको अवस्था बारे प्रष्ट पार्नुभयो ।

विहान साढे १० बाट सुरु भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहायक–प्रधानध्यापक रोजेन्द्र तामाङले विद्यालयको शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम,विद्यालयका शिक्षकहरु सुरेन्द्रराज जोशी र मिहो सासाकीले सञ्चालन गर्नुभएको थियो।

जापानको टोकियो स्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको आराकावा शाखा तेस्रो शाखा हो ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टका अनुसार विद्यालयमा विद्यार्थीको चाप बढेसँगै स्कुलको नयाँ शाखा टोकियोकै आराकावामा खोलिएको हो।

नयाँ शैक्षिक सत्र अप्रिलदेखि पठनपाठन सुरु गरिएको आराकावा शाखामा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुन्छ ।

माचिया स्टेशनबाट १० मिनेट पैदलमा विद्यालय पुग्न सकिने भएकाले ट्रेनमा यात्रा गर्ने विद्यार्थीलाई पनि सहज हुने विद्यालयका प्रधानाध्यापक भट्ट बताउनुहुन्छ । एभरेष्ट इन्टरनेशनल स्कुलको हाल ओकुबोमा किन्डरगार्टेन (एभरेष्ट किड्स), आशागायामा कक्षा १ देखि कक्षा ३ सम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ कक्षासम्म पढाइ भइरहेको छ ।

सन् २०१३ बाट टोकियोमा सञ्चालनमा आएको एभरेष्ट स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपालबाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र माध्यमिक विद्यालय हो । विद्यालयमा नेपाली पाठ्यक्रम अनुसार अध्ययन गर्न नेपालीसँगैै जापानी, इन्डियन र जाम्बियाका विद्यार्थी पनि आउने गरेका छन् ।

 

 

 

 

 

 

.