ओलीकै पालामा इन्सपेक्टर, ओलीकै पालामा महानिरीक्षक

५ चैत २०८१, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
५ चैत २०८१, मङ्गलवार

काठमाडौं। बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदा इन्सपेक्टरमा भर्ना भएका दीपक थापा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका छन्।

२०५१ साल मंसिर ११ मा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बन्दा केपी शर्मा ओली गृहमन्त्री थिए। 

१९ भदौ २०५२  मा नियुक्ति पाएका थापा साढे २९ वर्षपछि अहिले उनै ओली प्रधानमन्त्री भएका बेला महानिरीक्षकमा नियुक्त भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो। 

थापाको करिअरको ‘टर्निङ प्वाइन्ट’

प्रहरीमा आउनुअघि थापाले स्थायी शिक्षक थिए । प्रहरी निरीक्षकमा नाम निस्किएपछि उनले राजीनामा दिए । तर, लामो समयसम्म पनि नियुक्ति नपाएपछि उनी फेरि शिक्षण पेशामै फर्किएका थिए । नौ महिनापछि इन्सपेक्टरको नियुक्ति पाए।

भर्नादेखि प्रहरी महानिरीक्षकसम्मको उनको यात्रा उतारचडावपूर्ण छ ।  २०६३ भदौमा डिएसपी भएका उनी एसपी बढुवामा छुटेका थिए । २०७१ सालमा भएको एसपी बढुवामा उनको ब्याचका  धेरैजसो पर्दा थापा छुटेपछि उनको प्रहरी नेतृत्वमा पुग्ने सपना लगभग असम्भव जस्तै भइसकेको थियो । त्यतीबेला उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थिए । बढुवाप्रति असन्तुष्टि जनाउँदै त्यसबेला फेसबुकमा स्टाटस समेत लेखका थिए । 

चार महिनापछि उनी एसपीमा बढुवा भए । एसपीबाट एसएसपी बढुवामा छलाङ नै हाने । कतिसम्म भने उनकै लागि सरकारले प्रहरी नियमावली नै संशोधन गर्यो । त्यसबेला एसएसपीमा बढुवा हुन पदावधि चार वर्ष हुनुपर्ने प्रावधान थियो। प्रहरीमा एसएसपीमा १५ पद रिक्त थिए । उनको लागि अनुकुल माहोल थियो, तर प्रहरी प्रहरी नियमावलीको मापदण्डअनुसार उनको पदावधि करिब पाँच महिना पुगेको थिएन । उनकै लागि त्यतीबेला सरकारले प्रहरी नियमावली संशोधन गरी चार वर्षको प्रावधानलाई तीन वर्षमा र्झायो । वरियतामा अरुलाई पछि पार्दै उनी एसएसपी भए । यो नै उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ थियो ।

२०७९ को असारमा डिआइजी तथा २०७९ को चैतमा एआइजीमा बढुवा भएका थिए। एआइजीमा बढुवा भएको ठिक दुई वर्षपछि उनी आइजिपी बन्न सफल भएका छन् । करिब साढे पाँच महिना उनले प्रहरीको कमाण्ड गर्नेछन् ।