प्रचण्ड पारिवारको चरित्रहत्या गर्ने आधा दर्जन फेसबुक आईडी पहिचान भएको साइबर ब्युरोको दावी

३ चैत २०८१, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
३ चैत २०८१, आइतवार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सामाजिक सञ्जालबाट गालीगलज गर्नेहरु बढेको छ।

केही दिनअघि प्रचण्डले राजसंस्थाको  पुन:स्थापनाको विषयमा आक्रामक अभिव्यक्ति दिएपछि  राजसंस्था पुनःस्थापन  पक्षधरले आपत्तिजनक प्रकारका टिप्पणीहरु गरिरहेका छन्।

विभिन्न फेसबुकलगायत सामाजिक सञ्जालका प्लेटफर्ममा फेक आईडीसमेत बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका छन्।

आपत्तिजनक र घृणित सामग्रीहरु पोष्ट गर्ने आईडीको पहिचान गरी त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न प्रमाणसहित साइबर ब्युरोमा जाहेरी दिएको वाईसीएल नेपालका केन्द्रीय समितिले जनाएको छ।

मेचीमहाकाली अभियान, विकास महर्जन दीपु, सविना मोक्तान, कुलबहादुर थापाजस्ता आईडीहरूबाट प्रचण्ड तथा उनको परिवारका छोरी बुहारीहरूको बारेमा आपत्तिजनक पोष्टहरू गरिएका छन् ।

साइबर ब्युरोले केही आईडी पहिचान भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

प्रचण्डले राजसंस्थाविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि पछिल्ला तीन दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर राजावादीहरूले सामाजिक सञ्जालमा प्रचण्डको तीव्र विरोध गरिरहेका छन् ।