शक्तिशाली ताइफु (अम्पिल आँधी) पूर्वी जापानको इजु टापुनजिक आइपुग्यो, हावाहुरीले घर भत्काउन सक्ने मौसम अधिकारीहरुको चेतावनी
अम्पिल आँधी टोकियोको हाचिजोजिमा टापुबाट दक्षिण–दक्षिणपूर्वमा बिस्तारै अघि बढिरहेको छ । यो आँधी हाल जापानको राजधानीको महानगरीय क्षेत्रलगायत पूर्वी जापानतर्फ अघि बढिरहेको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बिहीबार मध्याह्नमा अम्पिलमा ९७० हेक्टोपास्कलको केन्द्रीय वायुमण्डलीय चाप थियो । यसको केन्द्रको आसपासमा अधिकतम १२६ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । यो अवस्थामा हावाको झोक्का तुरुन्तै १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ । अम्पिल शुक्रबार बिहान इजु टापुमा पुग्ने अपेक्षा गरिएको छ। यसले शक्ति प्राप्त गर्ने र शुक्रबारदेखि शनिबारसम्म कान्तो र तोहोकु क्षेत्रमा पुग्न सक्ने अनुमान गरिएको छ । इजु टापुमा अधिकतम १४४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ । हावाहुरीका कारण घर भत्काउन सक्ने मौसम अधिकारीहरुले चेतावनी दिएका छन् । बिहीबार रातिदेखि शुक्रबारसम्म दिनको समयमा भारी वर्षाको बादल मडारिन सक्ने भएकाले विपद्को जोखिम तीव्र गतिमा बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । इजु टापुमा शुक्रबार मध्याह्नसम्म २४ घण्टामा करिब २०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ । उक्त स्थानमा एकै दिन छालको उचाई १० मिटरसम्म पुग्न सक्छ । अधिकारीहरुले पूर्व जापान र देशका अन्य क्षेत्रले अत्यधिक आँधीबेहरीको सामना गर्नुपर्ने बताएका छन् । कान्तो क्षेत्रमा अधिकतम १४४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ । तोहोकुमा १०८ किलोमिटरस र टोकाईमा ९० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ । कान्टो क्षेत्रमा प्रतिघण्टा २१६ किलोमिटरसम्म पुग्न सक्छ। तोहोकुमा १६२ किलोमिटर र टोकाईमा १२६ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्न सक्छ । कान्तो क्षेत्रको समुन्द्रमा १० मिटर र तोहोकुमा ८ मिटर सम्म छाल पुग्न सक्छ । शुक्रबार मध्याह्नदेखि २४ घण्टाको अवधिमा कान्तो–कोशिन क्षेत्रमा अधिकतम वर्षा २०० मिलिमिटर सम्म पुग्न सक्छ । टोकाईमा १५० मिलिमिटर र तोहोकुमा ८० मिलिमिटर वर्षा हुनेछ।हावाहुरी, उच्च छाल, पहिरो, तल्लो क्षेत्रमा बाढी, नदीमा पानीको बहाव बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।