पसल नचलेपछि बीमाबाट २ करोड लिने योजना बनाएर आफ्नै पसलमा आगजनी
कास्की–बीमाको लोभमा पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको आफ्नै पसलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेका छन्। नारेश्वरस्थित डा.थानेश्वर पहारीको घर भाडामा लिएर मुक्तिनाथ सपिङ सेन्टर चलाउदै आएका पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतरा पक्राउ परेका हुन्।गत साउन १६ गते बिहान २ बजेतिर पसलमा आगलागी भएको सूचना प्रहरीकोमा पुगेपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाएका थिए।प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो । प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको हो । पसलका सञ्चालक सुजनले पोखरा–१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको प्रहरीले जानाकारी दिए। प्रहरीका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासी आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए । पसल खासै नचलेको र सामान ठूलो मात्रामा स्टक भएपछि आगजनी गर्ने योजना बानाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।