मुलुकको समृद्धि र जनताको समस्या समाधानका लागि नयाँ गठबन्धनः एमाले नेता गुरुङ



दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङले मुलुकमा समृद्धिका लागि बामपंथी दलको गठबन्धन भएको बताएका छन्।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका गुरुङले मुलुक अप्ठेरोमा पर्न थालेपछि देशको समृद्धि र जनताको समस्या समाधानका लागि नयाँ गठबन्धन बनाउनु परेको बताए।
नेकपा एमालाको मुख्य उद्देश्य भनेको देश बनाउने र जनतालाई खुशी राख्ने भएको बताउँदै उनले भने ‘देशमा सुशासन कायम गरी जनताको समस्या समाधान गर्ने अहिलेको प्रमुख विषय हो, त्यो तब सम्भव हुन्छ जब राजनीतिक स्थायित्व हुन्छ ।’
राम्रोपोष्टसंगको कुराकानीमा नेता गुरुङले बामशक्तिलाई दीर्घकालीन शक्ति बनाउने प्रयासस्वरुप यो गठबन्धन बनेको दाबी गरे। राजनीति स्थायित्व बामशक्ति एक हुदा मात्रै सम्भव हुने बताउँदै उनले भने ‘यसअघि पनि बामशक्तिबिच एकता भए पनि त्यो नटिकेकाले त्यसबाट पाठ सिक्दै यसअघि भएका कमीकमजोरी सच्याउँदै अघि बढ्ने प्रयास हुनुपर्छ।’
‘प्रधानमन्त्री प्रचण्डमा पनि देश विकास गर्ने तीव्र चाहना देखिन्छ। हामीमा पनि देशमा समृद्धि कायम गर्ने तिब्र ईच्छा छ, दुवै कुरा मिलेपछि अहिलेको नयाँ गठबन्धन बनेको हो।’नेता गुरुङले थपे ‘यसलाई टिकाउन सके धेरै काम गर्न सकिन्छ।’
नयाँ गठबन्धनप्रति प्रश्न र चुनौती धेरै रहेकोले विगतका कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउदै उनले भने ‘सहमति कायमै रहेमा धेरै काम गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ।’
‘यसअघि २०७९ पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभयो। दुई महिनामै प्रधानमन्त्री प्रचण्ड एमालेसँगको राजनीतिक गठजोड तोडेर कांग्रेससँग पुनः सत्ता समीकरण गर्न सफल हुनुभयो।’ नेता गुरुङले भने, ‘अब त्यसो गर्नु भएन।
कता कता प्रधानमन्त्री आफैले प्रचण्ड नमरेसम्म देशमा सधैं उथलपुथल हुन्छ भनेको सुने ।’ त्यस्ता अभिव्यक्तिले गठबन्धनमा अविश्वास पैदा गर्ने भएकाले पनि अब कुरा भन्दा काम गरेर देखाउन अग्रसर हुनुपर्नेमा उनले जोड दिए।