शालिनको आत्महत्या नभइ हत्या भएको बुबा दिपेन्द्र पखरेलको दाबी



काठमाडौं । आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या नभइ हत्या भएको बुबा दिपेन्द्र पखरेलले दाबी गरेको छ।
गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोकका पोखरेलले आत्महत्या भनिएको घटना अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसमेत गरेका छन् ।
चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते सोही विद्यालयले सञ्चालन गरेको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
बुबा दीपेन्द्रको दाबीअनुसार घटना आत्महत्या नभइ बलात्कारपछि हत्या भएको हो । उनले भने, ‘म काठमाडौंमा भएको बेला घटना भएको जानकारी विद्यालयबाट आयो । म त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिए पनि त्यहाँ पुग्दासम्म प्रमाण नष्ट गराउने मनसायले काम गरियो ।
घटनाको ४ दिनपछि मात्र प्रहरीले जाहेरी लिएको र शालिनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शववाहनमा ल्याएको उनले बताए । दीपेन्द्रले शव पोस्टमार्टम भए पनि अहिलेसम्म नबुझेको जानकारी दिए ।
दीपेन्द्रको किटानी जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका सुपरीवेक्षक कमल शर्मालाई पक्राउ गरेको छ ।