दोलखा महोत्सवमा दिनप्रतिदिन दर्शकको उत्साह बढ्दै, ३० हजार बढिले गरे अवलोकन

१८ पुष २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
१८ पुष २०८०, बुधवार

दोलखा। “दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि” भन्ने नाराका सुरु भएको दोलखा महोत्सव दैनिक हजारौंले अवलोकन गरिरहेका छन्।
पुस १३ गते शुक्रबारदेखि सुरु भएको महोत्सवमा बुधबार पाँचौ दिनसम्म ३० हजार बढिले महोत्सव अवलोकन गरेका छन्।
दोलखा उद्योग वाणिज्य संघको आयोजना सञ्चालित महोत्सवमा दैनिक चार देखि पाँच हजार पाहुनाहरुले अवलोकन गर्न थालेपछि महोत्सव उत्साहपूर्ण बन्दै गएको हो।
दैनिकरुपमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति राखिएकोले पनि महोत्सवमा दर्शक तथा पाहुनाहरुको उपस्थिति बाक्लो रहेको उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए।
हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको छ । अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य देखिन्छ । बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझतिर महोत्सव स्थलमा दर्शकको भीड बढ्दै जाने गरेको अध्यक्ष श्रेष्ठले बताए।
"दैनिक नयाँ अनुहारका पाहुनाहरु महोत्सव हेर्न आइरहेका छन्।" उनले भने "आयोजकको तर्फबाट सकेसम्म र भ्याएसम्मको प्रयास गरेका छौँ ।"
महोत्सवमा बाहिर हल्ला चलेजस्तो असहयोग कहिँकतैबाट पनि नभएको बताउँदै उनले भने "दोलखा महोत्सवले दोलखाको आर्थिक पाटोमा कुनैन कुनै ढंगले सहयोग गर्ने भएकाले सबै पक्षबाट सहयोग रहेको छ।"
दोलखाको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदादेखि दोलखाको उत्पादनलाई प्रवर्द्धन गर्दै दोलखाको आर्थिक पाटोलाई मजबुत बनाउने उदेश्यले महोत्सव आयोजना गरेको उनले बताए।
मेलामा १ सय ५० वटा स्टल रहेका छन् । जहाँ जिल्लामा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको छ । स्टल स्थलमा पनि सामन किन्न आउनेहरुको उत्तिकै भिड देख्न सकिन्छ । महोत्सवको पाँचौ दिन सामान किन्ने, प्रदर्शनमा राखिएका ऐतिहासिक वस्तुहरुको फोटो खिच्नेहरुको भिड लाग्ने गरेको छ।
दोलखाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवर्द्धन, कला संस्कृतिको संरक्षणमा महोत्सवले टेवा पुर्‍याउनेमा अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । महोत्सव अवधिभर दोलखालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्री राखिएको छ ।
त्यसैगरी दोलखाली उत्पादनबाट बनेको खाजा र खानाको परिकार पनि महोत्सवमा आउने पाहुनाहरुको रोजाइमा परेको छ। पुस २२ सम्म चल्ने महोत्सवमा ५० देखि ५५ हजारले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ।