बृहत दोलखा महोत्सव २०८० चरिकोटमा सुरु



दोलखा। “दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि” भन्ने नाराका साथ बृहत दोलखा महोत्सव २०८० सुरु भएको छ ।
सदरमुकाम चरिकोटमा शुक्रबारदेखि सुरु भएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विशेष समारोहका बीच उद्घाटन गरे ।
दोलखा उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं पूर्व राज्यमन्त्री देवी खड्का, अर्का पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य गङ्गा कार्की विश्व, नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिपछिरिङ लामा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्का लगायत जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, विभिन्न सरकारी एवं सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको सहभागिता रहेको संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए।
महोत्सव उद्घाटन अघि विभिन्न धार्मिक एवं साँस्कृतिक झाँकीहरु सहितको र्यालीले चरिकोट बजार परिक्रमा गरेको थियो । दश दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको साङ्गितिक एवं साँस्कृतिक प्रस्तुती रहनेछ । महोत्सवका लागि नेपाली साङ्गितिक क्षेत्रका चर्चित कलाकारहरु प्रताप दास, मिलन नेवार, ज्योति मगर, एलिना चौहान, प्रिति आले, नवराज घोरासैनी, हरिबहादुर राउत, राजनराज शिवाकोटी लगायतका कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले बताए।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि तथा औद्योगिक सामाग्री, खानाका परिकार एवं अन्य सामानका एक सय पचास ओटा स्टलहरु रहेका छन् ।