निष्क्रिय पत्रकारको सदस्यता नवीकरण गरेको भन्दै पत्रकार महासंघ दोलखामा तालाबन्दी
चरिकोट। नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको कार्यालयमा तालाबन्दी गरेको छ ।
महासंघले सदस्यता शुद्धीकरण अभियानमा शुद्धीकरण मापदण्ड विपरीत सदस्यता नवीकरण, नाम कटौती तथा नयाँ सदस्य थप गरेको भन्दै प्रेस चौतारीले तालाबन्दी गरेको हो।
पटक पटक पत्रकार गलत निर्णय सच्चाउन।पत्रकार महासंघको प्रदेश र जिल्लालाई आग्रह गर्दा पनि मनोमानी गरे पछि तालाबन्दी गरिएको प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलले जानकारी दिए।
मापदण्डले एउटै प्रकृतिका आफू निकटलाई नछुने र अन्य सदस्यलाई हटाउने जस्ता लज्जास्पद निर्णय सच्चाएर पूर्णरूपीमा शुद्धीकरण मापदण्ड लागु गराउन प्रेस चौतारी नेपाल दोलखाले माग गरेको छ। प्रेस चौतारी नेपालको गम्भीर असहमतिका बिच नेपाल पत्रकार महासंघ दोलखा शाखाले गरेको सिफारिस प्रति असहमति जनाउँदा जनाउँदै प्रदेश समितिले कुनै चासो नलिई नाम सिफारिस गरेको भन्दै प्रेस चौतारीले आपत्ति जनाएको छ ।
‘दोलखा जिल्ला शाखाबाट बिना प्रमाण नवीकरण भएका र शुद्धीकरण मापदण्ड विपरीत सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाइ नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरूको नाम हटाएर महासंघको प्रदेश समितिले केन्द्रीय समितिमा सिफारिस गर्नुले महासंघ पत्रकारको संगठन नभई गैरपत्रकारहरूको खुराफाती गर्ने थलो बनेको प्रष्ट हुन्छ’, जिरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र मापदण्डले स्वीकार गरेका पत्रकारहरूको समेत सदस्यता नवीकरण नगर्ने, नेपाल सरकारको वेतनधारी स्थायी शिक्षकको हकमा व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्ने, मापदण्ड विपरीत हुने एउटै प्रकृतिका कोही व्यक्ति महासंघको सदस्य रहने र कोही नरहने, महासंघको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रूपमा नयाँ सदस्यता प्रदान गर्ने, मापदण्ड बाहिरका निष्क्रिय पत्रकारको सदस्यता नवीकरण गर्ने जस्ता घृणित र अवाञ्छित कदमप्रति प्रेस चौतारी नेपाल दोलखा शाखाले खेद व्यक्त गरेको छ।
नेपाल पत्रकार महासंघको वाग्मती प्रदेश समितिले सिफारिस गरेर केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीका सम्बन्धमा पुनर्विचार नभए सशक्त प्रतिकारमा उत्रनुको विकल्प नहुने जानकारी गराउँदै अनिश्चितकाका लागि नेपाल पत्रकार महासंघ दोलखा शाखाको कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमा जनाइएको छ ।