सहकारी संस्थाहरु उत्पादनमुखी नबने आर्थिक संकट निश्चित : सांसद केसी

११ भदौ २०८०, सोमवार रविता महत
रविता महत
११ भदौ २०८०, सोमवार

चरिकोट । दोलखा (ख)बाट प्रत्येक्ष निर्वाचित वागमती प्रदेश सांसद भरत बहादुर केसीले सहकारीहरु पैसाको किनबेच भन्दा पनि उत्पादनमुखी हुनुपर्ने बताएका छन्।
आइतबार सदरमुकाम चरिकोटमा आयोजित सहकारी संस्थाको कार्यकुशलता र सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सांसद केसीले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताएका हुन्।
उनले सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति,विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि सांसद केसीले सहकारीहरु विषेश कार्ययोजना बनाएर अघि नबढे भविष्य राम्रो नरहेको जिकिर गरे।
दोलखाका बैंक तथा सहकारीहरुले कमजोर कर्जा विश्लेषण गरि अनुत्पादित क्षेत्रमा ऋण प्रवाह गर्दा आर्थिक संकट उत्पन्न भएको बताउँदै उनले भने “सहकारी संस्थाहरुले किनबेचमा मात्रै लगानी नगरि सानासान कृषकहरुलाई समिटेर कृषि उत्पादनमा विषेश सहयोग गर्नु पर्छ।”
“सहकारीले रैथाने उत्पादनलाई जोगाउदै उत्पादनमुखी भएर अगाडी नबढे भविष्यमा सहकारीमा पनि ठूलो आर्थिक संकट नआउला भन्न सकिन्न ।” उनले भने ।
जनमुखी सहकारी संस्थाको आयोजना तथा नेफ्स्कुन दोलखाको प्राबिधिक सहयोगमा भएको ३४ औं वागमती प्रदेसका १० वटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो।
एकअर्कामा अनुभव आदनप्रदान गर्ने, संस्थाको बित्तिय र प्रशासनीक रोपोर्ट पेश गर्ने र उक्त रिपोर्टलाई छलफल गरेर आएको सकरात्मक निष्कर्षलाई व्यवहारमा लागु गर्दै सहकारी संस्थालाई थप प्रभाबकारी र विश्वसनिय बनाउने उद्धेश्यले कार्याक्रमको आयोजना गरेको जनमुखी सहकारी संस्थाको उपाध्यक्ष गिताकृष्ण शर्माले बताए।
जनमुखी सहकारी संस्थाको अध्यक्ष माधब प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमका नेफ्स्कुनका अधिकृत प्रेम प्रसाद वाग्लेले सहजीकरण गरेका थिए।
विभिन्न ८६ वटा बित्तीय सूचक पार गरेर एक्सेस ब्याचमा पर्न सफल सहकरीका प्रमुख तथा प्रतिनिधिहरुहरु सहभागि रहेको कार्यक्रममा उपाध्यक्ष गिता कृष्ण शर्मा, जिल्ला सहकारी संघका महासचिव कृष्ण प्रसाद दाहाल लगाएतले आफ्नो धारणा राखेका थिए ।