पशुपतिनाथको मन्दिरलाई पौराणिक ढाँचामा बदल्दै,अध्यक्ष भन्छन्:’सबैले सहयोग गरौं’

520

चरिकोट। भीमेश्वर नगरपालिका चरिकोट पुरानो वजारमा अवस्थित ऐतिहासिक पशुपतिनाथको मन्दिरलाई सांस्कृतिक कला झल्कने गरि पौराणिक ढाँचामा बदल्ने कार्य सुरु भएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा केही दिन अघिदेखि मन्दिरमा दाचीअपा ईट्टाको गारो, झिङटीको छानो, पेटी र सिढीमा तेलिया ओछ्याएर कलात्मक स्वरुप दिन थालिएको हो।
मन्दिरको ढोका,झ्याल,गारो र छानामा कलश, नागनागीन, सिंह, अष्ट मंगल, मिखाफुटी, पान बुट्टा, तिनकुने बुट्टा, नाँग‍ो, गंगोचा, पलेखँ लगाएतका बुट्टा भरेर मन्दिरलाई पुरातात्त्विक महत्त्वको बनाउन लागेको पशुपति मन्दिर संरक्षण समितका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए।
“पशुपतिनाथ मन्दिरको मात्रै सबै काम सक्किन आठ लाख लागत अनुमान गरिएकोमा भीमेश्वर नगरपालिकाले पाँच लाख सहयोग गर्छु भनेका छन्।”उनले भने। धर्म संस्कृति र आस्थालाई बचाइ राख्न मन्दिर महत्त्वपूर्ण रहने बताउदै उनले सहयोगका लागि सबैमा अनुरोध समेत गरे।
“झन्डै एक रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा शिवको चौमुखा सहितको पशुपतिनाथको मन्दिर, राधाकृष्ण मन्दिर, गणेशथान र भीमसेनथान रहेको छ।” उनले भने,”भुकम्पले भएका पर्खाल र गेटमा समेत क्षेती पुर्याएकाले त्यो पनि निर्माण गर्न खर्च अभाव छ।”
मन्दिर प्रांगणको दुरावस्थाले हिन्दु धर्म, संस्कृतिमा आस्था राख्नेहरुको भावनामै ठेस पुगेकाले सम्बन्धि सबैले बेलैमा सोच्नुपर्नेमा श्रेष्ठले जोड दिए। मन्दिर परिसर निर्माणका लागि सरकारको मात्रै मुख ताकेर नहुने बताउदै अध्यक्ष श्रेष्ठले सबैले थोरै-थोरै सहयोग गरे पनि त्यो आफ्नो धर्म, संस्कृति संरक्षणका लागि ठूलो सहयोग हुने जिकिर गरे। “खुलेर आफुले सकेको सहयोग गर्नुस् भन्दै उनले सहयोगी सबैको नाम ताम्रपत्रमा लेखेर मन्दिर प्रांगणमा राख्ने प्रतिबद्धता जाहेर गरे।
साविक जनकपुर अञ्चल दोलखा जिल्ला चरिकोट गाविस वडा नं -१, हाल प्रदेश नम्बर -३ भीमेश्वर नगरपालिका वडा नं-३ स्थित प्राचीन सिद्धविनायक गणेशथानको हाताभित्र पशुपतिनाथको मन्दिरको विक्रम संवत् २०३५ साल बैशाख ३ गते आईतवार साविक दोलखा गाविस वडा नं-६ हाल भीमेश्वर नगरपालिका वडा नं-२ दोलखा (अभयपुर) बजार निवासी नारायण बहादुर मल्ल श्रेष्ठले आफ्नो निजी स्रोतबाट निर्माण गरि स्थापना गरेका थिए।
सो मन्दिरकै हाताभित्र राधाकृष्ण गौरीगाईको मन्दिरको पनि विक्रम संवत् २०४९ साल बैशाख २३ गते अक्षय तृतीयको दिन चरिकोट (टुटेपानी) बजार निबासी श्री रत्न नारायण श्रेष्ठ र नारायणभक्त श्रेष्ठको सक्रियतामा सेवा, भेटी संकलनबाट निर्माण गरिएको संरक्षण समितका पुर्व अध्यक्ष नारायणभक्त श्रेष्ठले जानकारी दिए।
मन्दिरमा शिवरात्री, तिज, कृष्ण जन्म अष्टमी, चतुर्मासी र श्रावण महिनाको प्रत्येक सोमबार भक्तजनहरुको भिड लाग्ने गर्दछ।
पूजापाठ एवम् दर्शनको लागि सदैव खुल्ला रहने यस पशुपतिनाथको मन्दिर सुरुमा ढुङ्गा माटोको गारो तथा काठपात र जस्तापाताको छानोले बनोको थियो। विक्रम संवत् २०६१ सालमा त्यस्लाइ भत्काएर पिलर, ईट्टा र ढलानको छानो राखेर निर्माण गरेका थिए। अहिले त्यहि गारो र छानामा संस्कृति झल्कने कलात्मक ढाँचा दिन लागेका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here