मोदीको स्वागतमा जनकपुरमा कति खर्च भयो? मेयर भन्छन् : अब हिसाब खोज्छौं

83
फाईल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसध्यामा जनकपुरमा २० वर्षमा नभएको विकास २० घण्टाभित्रै भयो ।रातारात सडकका खाल्डाखुल्डी पुरिए, विमानस्थलदेखि जानकी मन्दिर तथा रंगभूमि मैदानसम्म जाने मुख्य सडकको कायापलट भयो । समग्र मधेसकै सबैभन्दा खराब शहर बनिसकेको जनकपुरले आंशिक रुपमा भने पनि मोदी भ्रमणका कारण चोला फेरेको छ ।

आखिर चाहृयो भने त सम्भव हुँदोरहेछ ? के जनकपुरले यो विकासलाई कायम राख्न सक्छ ? जनकपुर उपमहानगरका मेयर लालकिशोर साहसँग गरेको कुराकानी :  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सफल भयो होइन ?

अजीव किसिमको अनुभूति भयो । कार्यक्रम गर्न ठूलो चुनौती थियो । कार्यक्रम हुन्छ कि हुँदैन भनेर लागेको थियो । धेरै जिम्मेवारीपूर्ण कार्यक्रम थियो ।

मौसमको प्रतिकुलता थियो तर, हामीले सफल कार्यक्रमको रुपमा मोदीको भ्रमणलाई लिएका छौं । गौरवान्वित महसुस गरिरहेको छु । आत्मगौरव, आत्मसम्मान जनकपुरबासी, प्रदेश र संघीय सरकारले कायम राख्न सक्यौं ।

कत्तिको चुनौतीको सामना गर्नुपर्‍यो ?

छोटो समयमा धेरै काम गर्नुपर्ने थियो । वैशाख ८ गते संघीय सरकार र भारत सरकारको उच्चस्तरीय प्रतिनिधिहरु आएर छलफल गर्नुभएको थियो, त्यही बेला प्रधानमन्त्री मोदी भ्रमण हुने थाहा पाएँ । यसअघि अनौपचारिक कुरा भएको थियो संघीय सरकार र भारतीय दूतावासबाट ।

यो छलफलसम्म अस्तव्यस्त अवस्था थियो । विस्तारको काम भइरहेको सडक भताभुंग अवस्थामा थियो । नालाहरु जाम थियो । फोहोर र दुर्गन्ध व्याप्त थियो । यति समस्याका वावजुद पनि हामी एउटा नेटवर्क तयार गर्‍यौं । कर्मचारी, नगरपालिका बोर्डको बैठक बसेर हामी २४ औं घण्टा काम गर्ने निर्णय गर्‍यौं ।

८ गतेदेखि २८ गतेभित्र तीन पटक ठूलो हावाहुरी र वषर्ा भयो । शुरुमा मोदीको हेलिकप्टर यात्रा तय थियो । तर, वैशाख १८ गते नेपाल र भारतको उच्चस्तरीय टिम आएर विमानस्थलमा नै ओर्लने र छाटो बाटो भएर ल्याउने छलफल भयो । त्यहीँ अनुरुप राम चोक हुँदै ल्याउने निर्णय गर्‍यौं । १८ गतेदेखि अहोरात्र काम भइरह्यो । तर, १९ गते बिहान पुनः बर्षा भएपछि सडक बनाउने काम अवरुद्व भयो ।

तथापि पनि हामी थाकेनौं, कामलाई निरन्तरता दिइरहयौं । २६ गते पुनः हावाहुरी र पानी आएपछि गेट भत्कायो, धेरै ठाउँमा काम अवरुद्व गर्‍यो ।

अर्काे चुनौती भनेको संघीय र प्रदेश सरकारसँग समन्वय गर्न पनि देखियो । पहिलो पटक संघ प्रदेश र स्थानीय सरकार बनेको छ । कसरी समन्वय गर्ने भन्ने कुराको जानकारी पनि भएन । समय कम भएकाले मिथिला पेन्टिङका लागि बाहिरबाट कलाकारहरुलाई बोलाउनुपर्‍यो । समस्या जतिसुकै आए पनि हरेक निकायको सहयोग भएकाले समयमै काम सम्पन्न गर्न सक्यौं ।

यो सबैले सरकार र राज्यले चाहने हो भने रातारात विकास सम्भव रहेछ भन्ने देखायो । अब यसले निरन्तरता पाउँछ ?

हेर्नुस्, विशेष परिस्थितिको समयमा स्रोत साधन, म्यानपावरको हिसाबले कति काम गर्न सकिन्छ त्यसमा भर पर्ने कुरा हो । तर, दृढ इच्छा शक्तिले काम हुन्छ भने लक्ष्य प्राप्ति सहज रुपमा गर्न सकिन्छ ।

मैले आफ्नो जीवनमा पहिलो पटक चुनौतीको सामना गर्दै काम गरेँ । यो राज्यको काम थियो । राज्यको काम गर्दा समन्वय गर्नुपर्ने हुन्छ ।

संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्नु चुनौती थियो । प्रदेश सरकार त यहीँ थियो तर, संघीय सरकारको विगतको व्यवहारले चिन्तित बनाएको थियो । तर, केपी ओली नेतृत्वको संघीय सरकार एकदमै सकारात्मक सहयोग गर्‍यो ।

यो बीचमा धेरै कुरा सिकें । अहिले आत्मविश्वास बढेको छ । २४ घण्टामा १८ देखि २० घण्टासम्म काम गरेको छु । तथापि अहिलेको कामको रफ्तार निरन्तर यस्तो नरहन पनि सक्छ । जब नेतृत्व पंक्तिमा रहेको जनप्रतिनिधि काम गर्न अगाडि बढ्छ, स्रोत, साधन र म्यानपावरले पनि साथ दिँदोरहेछ । मैले महसुस गरेको छु, आँट गरे, संकल्प गरे काम हुँदोरहेछ ।

भनेको, जनकपुरमा बाँकी कामहरु पनि यही गतिमा हुन्छ ?

हजारौं घरहरु टुटेका छन् । सडक निर्माण गर्नुछ । सडकको दुबैतिर २/२ मिटरको पेटी बनाउनुछ । पेटीबाट विजुलीको पोल हटाउनुछ ।

सोलार लाइट लगाउनुछ । अन्डरग्राउण्डमा रहेको टेलिफोनको केबुल मिलाउनुछ । काम धेरै छ । विमानस्थलदेखि रेल्वे स्टेशनको चार किलोमिटर सडकको काम ७० प्रतिशत भइसकेको छ ।

मुरलीचोकदेखि भ्रमपुरा चोकसम्मको ८० प्रतिशत काम भइसकेको छ । बाँकी २७ किलोमिटर सडकको काम अहिलेसम्म ५० प्रतिशत भइसकेको छ । यो कामहरुलाई तीव्रता दिन्छु । किनभने वर्षा आउँदा काम हुन सक्दैन ।

सरसफाइलाई पनि निरन्तरता दिन्छु । ट्राफिक धेरै अस्तव्यस्त हुन्छ । पार्किङका लागि गृहकार्य भइसकेकाले त्यसलाई पनि व्यवस्थित गर्छु । यसका साथै बाह्रबिघासहितका सार्वजनिक स्थलहरुको व्यवस्थापन गर्नुपर्नेछ ।

संसारको एउटा पहिचान हुने ठाउँ जानकी मन्दिर भएको ठाउँलाई व्यवस्थित गर्नु जरुरी छ । नाला र सडकलाई पहिला कम्प्लिट गर्छु । भइरहेको काम सफलतापूर्वक सम्पन्न भए मात्र अन्य कामहरु ल्याउन सकिन्छ ।

धेरै काम बाँकी नै रहेछ, मोदीको भ्रमणका क्रममा रातारात बनेको सडक फेरि भत्काउनु पर्ने त होइन ?

जिरो प्वाइन्टको जनक मन्दिरदेखि जानकी मन्दिर हुँदै रमानन्द चोकसम्म अन्डरग्राउण्ड गरेर पिच सडक बनाउनुथियो । यसो गर्दा समय लाग्थ्यो । तत्काल यो सम्भव थिएन ।

विश्वकै पाँच शक्तिशाली प्रधानमन्त्रीमध्ये एक मोदीज्यू यहाँ आइरहनुभएको थियो र, यो सडक नै जानकी मन्दिरसम्म आउने मुख्य सडक थियो । त्यसैले तत्काल पिच गरियो । अब यसो गर्दा अली बढी खर्च हुन्छ । तर, काम त्यहीं तरिकाले गर्नु जरुरी छ । यहाँ मात्रै तोड्नुपर्ने अवस्था आउन सक्छ ।

पेन्टिङमा प्रयोग भएका रंगहरु केशल्या रंगको प्रयोग गरिएको छ । जुन स्थायी रंग हो । अरु सबै कामहरु राम्रै भएको छ ।

रातारात भएको कामको खर्च चाहिँ कति भएछ ?

खर्च यति भयो कि उति भयो भन्न सकिन्न । प्राविधिकहरुको समितिहरु बनेको छ । जनप्रतिनिधिका पनि समिति बनेको छ । स्रोत साधनको कमीका कारणले कार्यक्रम प्रभावित नहोस् त्यसमा हामी सचेत थियौं । भ्रमण भर्खर सम्पन्न भएको छ, अब के कति खर्च भयो बुझ्छौं ।

संघीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । तर, धेरै काम आफूले गर्नुपर्ने काम नै थियो । जस्तो मिथिला पेन्टिङ गर्ने निर्णय नगरपालिकाकै योजनामा थियो । यो गराउनुपर्ने नै थियो । पण्डाल बनाउने काम प्रदेश सरकारको थियो। हामीले पेन्टिङबाहेक सरसफाइमा तिब्रता दियौं ।

मोदीज्यूको सवारीका कारण बजेट खर्च गरियो भन्ने कुरा म बुझिदनँ । मैले आफ्नै योजना अनुसारको बजेटबाट खर्च गरेँ ।

अनि सडकको काम कसले गर्‍यो त ?

विमानस्थलदेखि मुरली चोक र मुरली चोकदेखि भ्रमपुरा चोकसम्मको सडक बनाउने परियोजना छ आईयुडीजीपी । यो सडकमा अण्डरग्राउण्डको काम भइसकेको छ । सडक पेटीको काम हुनेछ । यो सडकको काम अघि बढिरहेको थिएन अवरोधका कारण । मोदी आउने चर्चा चलेको केही दिनअघि मात्रै अवरोध हटेको थियो । यो परियोजनाको निर्धारित काम हो ।

रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको काम हामीले गराएका छौं । यसमा संघीय सरकारले धेरै सदासयता देखायो । अन्य ठाउँमा पनि खर्च भएको छ । यसबारे संघीय सरकारलाई लेखेर पठाएका छौं ।

मोदीको भ्रमणमा त राम्रो सहयोग भएछ केन्द्रबाट । अब विकास गर्दा पनि त्यस्तै सहयोग रहला नि ?

संघीय सरकारको सहयोग रहेन भने काम गर्न समस्या छ । हामीले गाउँ, नगरको विकास गरेनौं भने देशको विकास असम्भव छ । धेरै लामो रिक्ततापछि स्थानीय सरकार आएका छन्, प्रदेश र संघीय जनप्रतिनिधिहरु छन् ।

पाँच बर्षको यो समयको सदुपयोग गर्दै संरचनालाई चुस्त दुरुस्त गर्न तीनै तहको सरकारले काम गरेन भने विकास असम्भव छ । जनकपुरको विकासको मामिलामा जसरी संघीय सरकार सकारात्मक रह्यो, त्यसलाई त निरन्तरता दिनैपर्छ । यो हुन्छ भन्ने मैले विश्वास लिएको छ ।

हिजोसम्म संघीय सरकार मधेशीको मामिलामा सकारात्मक थिएन । तर, मधेशको धर्ती जनकपुर नेपालको भूगोल हो भन्ने कुरा बुझ्नैपर्छ । हाम्रो प्रधानमन्त्रीले राजकीय भ्रमणको निमन्त्रणा दिएपछि त मोदी आउनु भयो नि तेसैले अहिलेको संघीय सरकार सकारात्मक छ भन्ने मलाई लाग्छ ।

अन्तिममा मोदीको नागरिक अभिनन्दनमा हजारौंको संख्यामा जनता उतार्नुभयो, यो सफलता नै मान्नुपर्छ । तर, गाउँगाउँबाट आएका जनताले पानीसमेत पिउन पाएनन् भन्ने गुनासो आयो नि ?

नागरिक अभिनन्दन कार्यक्रम हाम्रो थियो । तर, पण्डाल बनाउनेदेखि पानी दिने जिम्मेवारी प्रदेश सरकारको थियो । शुरुमा प्लाष्टिकको पाउच बनाएर २५/३० हजार लिटर पानी रंगभूमि मैदानमा राख्ने कुरा भएको थियो । प्रदेश सरकारले योजना बनाएको पनि थियो ।

तर, कहाँ त्रुटी भयो थाहा भएन । नगरपालिकाको जिम्मेवारी भएको भए हामीले जसरी पनि व्यवस्थापन गर्थ्यौं । पानी नदिनु त्रुटी भएको छ, कमी भएको छ । अनलाइनखबरबाट

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here