मन्त्री अधिकारीद्वारा बन्द भएको जिरी एयरर्पोटको स्थलगत निरिक्षण

338

जिरी। पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले बन्द भएको जिरी एयरर्पोटको स्थलगत निरिक्षण गरेका छन्।
दोलखाको खरिढुङ्गा स्थित एस.ओ.एस. बालग्रामले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आएका मन्त्री अधिकारीले जिरी एयरर्पोट पुनः संचालनको सम्वन्धमा चासो दिदै स्थलगत निरिक्षण गरेका हुन।
सुन्दर पर्यटकीय नगरी जिरीको अनौपचारिक भ्रमणको क्रममा मन्त्रि अधिकारीले जिरी एयरर्पोट पुनः संचालनका लागि आवश्यक पहल गर्न आफु तयार रहेको बताएका छन्।
विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट नापीको बेला कृषि मन्त्रालय अन्तर्गत जानु ठुलो भुल भएको बताउदै अधिकारीले अव फेरी पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा संचालनका लागि प्रक्रिया थाल्ने स्पष्ट पारेका छन्।
काठमाण्डौको हवाई ट्राफिक समस्यालाई समेत न्यूनीकरण गर्ने ठोकुवा गर्दै उनले सगरमाथा, रोल्वालिङ क्षेत्र लगाएत पुर्वी क्षेत्रको पर्वतीय उडानको लागि जिरी एयरर्पोट उपयुक्त  रहेको बताए।
उनले रामेछापको मन्थलीमा हाल संचालनमा रहेको एयरर्पोटको समेत चर्चा गर्दै उक्त स्थानमा एयरर्पोट संचालन हुनु आवतजावतका लागि ठिक भएतापनि पर्यटकीय दृष्टिकोणले जिरीमा हवाई सेवा संचालन अपरिहार्य रहेको बताए।
जिरी वास्तवमै निकै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउदै जिरी नगएमा नेपालको घुमफिर अधुरो रहने टिप्पनी समेत गरेका छन्।

छोटो भेटघाट कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक बहादुर जिरेलले २०५२ साल अगाडी सम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट  तात्कालिन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिन समेत कृषि ब्लक अन्तर्गत नापी गरिएकोले हाल एयरर्पोट संचालनमा समस्या परिरहेक जानकारी दिए।

२०४० सालबाट बन्द रहेको जिरी एयरपाेर्ट सञ्चालनका लागि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि पुनःसञ्चालनको लागि प्रयास गरेका थिए।
तर एयरपोर्टको जग्गा पशुविकास फार्मको नाममा रहेकोले उनको योजना सफल हुन सकेको थिएन।
४ सय मिटरको रनवे रहेको जिरी एयरपोर्टमा २ सय मिटर थपेर ६ सय मिटरको बनाउन सकिने बताउदै  मेयर जिरेलले एयरपोर्ट सञ्चालन गर्न सके जिरीबाट माउन्टेन फ्लाइटको लागि छोटो र सस्तो हवाई सेवा हुने जिकिर गरे।
“जिरीको मौसम सधैं सफा हुने भएकोले पनि माउन्टेन फ्लाइटनको लागि उपयुक्त एयरपोर्ट हुन्छ।” उनले भने।एयरपोर्टलाई ग्राभेल गर्न सके १२ महिना सञ्चालन गर्न सकिने भन्दै त्यसतर्फ पर्यटनमन्त्रीको ध्यानाकर्षण समेत गराए।
कार्यक्रममा दोलखाका प्रतिनिधि सभा सदस्य सांसद पार्वत गुरुङले समेत भौगोलिक तथा पर्यटकीय हिसावले जिरी उत्कृष्ट रहेको बताउदै जिरी एयरर्पोट तत्काल संचालन गर्न आफुले सक्दो प्रयास गर्ने भनेका छन्।
करिब एक घण्टाको भेटघाट कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिरी स्थित राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, लगाएतको सहभागिता थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here