दलितलाई प्लास्टिकको गिलासमा चिया!

139

बिरगंज। पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ५० बर्से निरक्षर लक्ष्मी डोम सधैं बिहानै चिया पिउन गाउँको चिया पसल पुग्छन् । पसलमा चाँडै पुगे पनि अरूले सिसाको गिलासमा चिया खाइसकेपछि मात्र उनले बेग्लै राखिएको प्लास्टिकको गिलासमा चिया खान पाउँछन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

पसलको एउटा कुनामा बेग्लै झोलामा राखिने प्लास्टिकको त्यो गिलास उनी र उनका समुदायका अरूलाई चिया दिन राखिएको हो। त्यही चिया पसलमा महम्मद फकरोदिन देवानलाई भने सिसाको गिलासमा चिया दिइन्छ तर ३÷४ पटक माझेर । लक्ष्मीलाई चिया दिने प्लास्टिकको गिलास भने सफा गरिँदैन ।

त्यति मात्र होइन, लक्ष्मीले अदबपूर्वक चिया माग्नुपर्छ, नत्र चिया खान नपाइने मात्र होइन अनेकौं वचनका बाण सहनुपर्छ । अरूले चिया माग्दा भोजपुरीमा ‘चाय द’ (चिया दिनुस्) भने पुग्छ तर उनले ‘जी मालिक चाय’ (हजुर मालिक चिया) भनेर माग्नुपर्छ । उनले चुल्होभन्दा ५ मिटर पर भुइँमा बसेर चिया पिउनुपर्छ तर उनीसँगै चिया पिउन त्यहाँ पुगेका देवानसहित अरूले भने टेबलवरिपरि बसेर मजाले चियाको चुस्की लिन पाउँछन् ।

चियाको पैसा तिर्दै सबै जना आ-आफ्नो बाटो लाग्छन् । अरूजस्तै लक्ष्मी पनि चियाको पैसा तिर्छन् र उनले तिरेको पैसा पनि सबैले तिरेको पैसा राख्ने बाकसमा (पेटी) मै राखिन्छ । पैसामा कुनै भेदभाव छैन ।

पैसा एउटै बाकसमा राख्न हुने, पैसामा कुनै छोइछिटो नहुने तर पानी छोइने देखेर उनका मनमा अनेकौं प्रश्न उब्जन्छन् ।

चिया पिउँदा पसलेले गर्ने व्यवहारबाट आफू हेपिएको अनुभूति हुने उनी बताउँछन् । ‘म पनि अरूजस्तै मान्छे हूँ तर मसँग किन यस्तो व्यवहार ? ’ उनी भन्छन्, ‘के डोम समुदायमा जन्मिनु पाप हो ? कि डोम समुदायको रगत रातो छैन ? धारामा पानी भर्न पाइँदैन, पसलमा सबैसँग खान र बस्न मिल्दैन, आखिर किन ? ’

उनी सामाजिक कार्यमा समेत यस्तै विभेद हुने दुखेसो पोख्छन् । ‘गाउँघरमा हुने भोज भतेरमा सबैले खाइसकेपछि मात्र खान दिइन्छ नत्र बासी खानेकुरा भोलिपल्ट दिन्छन्’, उनले भने, ‘तर त्यही बिहेमा डोमले नै बनाएका डाला (बिहेमा चाहिने सामग्री) भने चल्छन्, छोइँदैनन् ।’ हिन्दू परम्पराअनुसार बिहेमा डाला नभई बिहे नै हुँदैन ।

लक्ष्मी सुरुमा गाउँभन्दा परको (शौच जाने ठाउँ) ऐलानी जग्गामा घर बनाएर बस्दै आएका थिए । उनी बसेकाले त्यो जग्गाको भाउ बढेन भनेर केही मान्छेले उनको उठीबास गरे । अहिले जेनतेन उनी गाउँभन्दा बाहिर आफ्नै नाममा करिब ५ धुर घडेरी किनेर घर बनाएर बसेका छन् तर यो घर पनि सबैले खुला शौच गर्ने ठाउँमै छ। उनका छोरा, बुहारी, नाति, नातिना गरी परिवार संख्या १२ जनाभन्दा धेरै छ ।

दलितमाथि जातीय भेदभाव नभई विपन्न आर्थिक अवस्थाका कारण वर्गीय भेदभाव हुने गरेको ७ नम्बर वडाका अध्यक्ष प्रभु पटेलको बुझाइ छ । ‘अरूसँग पैसा मागेर आफ्नो जोहो टार्ने भएकाले अरूले हेप्छन्’, उनले भने । उनका अनुसार दलित सम्पन्न भए वा आर्थिक अवस्था सुधार भए यस्ता सबै भेदभाव स्वतः अन्त्य हुनेछ। सम्पन्नले मात्र सम्मान पाउने अवस्थाले गर्दा पनि समस्या जटिल भएको उनी बताउँछन् ।

अर्थ राजनीतिका कारण जातीय भेदभावको जरो समाजमा बलियो हुँदै गएको छ । दलितको तारे होटलमा नजाने र नखाने कोही हुँदैन तर ग्रामीण भूभागमा पुस्तौंदेखिको छुवाछुतले समाजको मानसिकता आधुनिक बन्न सकेको छैन। राजनीतिक शक्तिमा र सत्तामा रहेका तथा आर्थिक अवस्था राम्रा भएका दलितले अपमानित हुनु पर्दैन । लक्ष्मी आफ्नाले समेत छोइछिटो गर्दा मन अमिलिने बताउँछन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here