हेटौँडा, २१ माघ। सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटाैँडा तोकिसकेको छ। प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ। पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्रबहादुर बानियाँबाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन्। तर, अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सांसद बानियाँले हेटौँडा प्रादेशिक राजधानी नभए संघीयता नै कार्यान्वयन नहुने चेतावनी दिएका थिए ।

२७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ । सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ । मकवानपुरबाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडाप्रति सकारात्मक नदेखिएपछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ । हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो । तर, अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहाइ सांसद पुर्याउन गाह्रो देखिएको छ। प्रदेश ३ मा कुल ११० सांसद छन्। पछिल्लो समय सबै जिल्लालाई पायक पर्नेगरी भक्तपुर, ललितपुर, काभ्रेमध्ये एक ठाउँमा राजधानी हुनुपर्ने विचार आउन थालेका छन्।

यसकारण हेटौँडा राजधानी बनाउन उपयुक्त हुन्छ
– देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक।
– द्रुतमार्ग, धरान–चतरा मार्ग, कान्ति लोकपथ, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथलगायत राजमार्ग जोडिएको क्षेत्र।
– १९ वटा क्षेत्रीय कार्यालयसहित मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका भवनको सुविधा हुने।
– अस्थायी राजधानी बनाउँदा साढे ६ करोडभन्दा धेरै खर्च भएकाले पुनः सार्न गाह्रो हुन सक्ने ।
– देशकै ठूलो आर्थिक नाका र व्यापारिक केन्द्रसँग नजिक ।
– नेपाल र छिमेकी मुलुक भारत र चीनबीच त्रिदेशीय सम्बन्ध जोड सजिलो हुने ।
– वातावरणीय दृष्टिकोणले अनुकूल

यसकारण हेटौँडा उपयुक्त हुँदैन
प्रदेश ३ का १३ मध्ये नौ जिल्लालाई अत्यन्तै अपायक पर्छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलाई सामान्य पायक। सडक विस्तार नभएका साँघुरा छन् ।

वाम गठबन्धनको सरकारले राजधानी सार्ला ?
प्रदेश राजधानी कांग्रेस सरकारले कमल थापाको पहलमा हेटौँडामा तोकेको हो । यदि चाँडै बन्ने वाम गठबन्धन सरकारले राजधानी सारे मकवानपुर र चितवनको जनमत गुम्न सक्ने सम्भावना पनि त्यतिकै छ । मकवानपुर वाम गठबन्धनको पकड जिल्ला मानिन्छ । २०५१ सालमा मकवानपुरमा एक सिट राप्रपाबाहेक सबै निर्वाचन क्षेत्र तथा २०५६ सालमा एमालेले सबै क्षेत्र जितेको थियो । २०६४ मा सबै क्षेत्र माओवादी, २०७० सालमा एक सिट कांग्रेसबाहेक सबै एमाले र २०७४ सालमा सबै वाम गठबन्धनले जितेको छ ।

डेरा नखोजी सांसदहरू काठमाडौं फर्किए
प्रदेश सभाको पहिलो अधिवेशन १८ माघमा तोकिएकाले सबै दलका सांसद हेटौँडा आएका थिए । कांग्रेस–एमालेका केही सांसद अघिल्लो दिन आएर होटल, नेता तथा कार्यकर्ताको घरमा बसेका थिए । तर, पहिलो अधिवेशन सकिएकै दिन अधिकांश सांसद राजधानी फर्किए । पुनः अर्को बैठक बस्ने भएपछि सांसदहरूले हेटौँडामा डेरा खोज्नुपर्ने हो । तर, प्रदेश ३ का अधिकांश सांसद डेरा नखोजी काठमाडौं फर्किसकेका छन् । प्रदेश ३ का अधिकांश सांसदलाई हेटौँडा स्थायी राजधानी कायम हुनेमा ढुक्क छैनन् । पहिलो अधिवेशनले २७ माघमा सभामुख चयन गर्ने घोषणा गरेको छ । यसपछि नियमित रूपमा उपभामुख, मुख्यमन्त्री र मन्त्रिमण्डल गठन हुने भएपछि अधिकांश सांसद पार्टीका शीर्ष नेता रिझाउन काठमाडौं पुगेका छन् । (नयाँपत्रीका दैनिकबाट )

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here