अभिनेता रमेश उप्रेतीले पैसा तिरेर हलमा हेरिने कलाकारहरु टिकटकमा हलुका हुनु नहुने बताएका छन् ।
एक समयका लोकप्रिय अभिनेता उप्रेतीले टिकटक नराम्रो नभए पनि कलाकारहरुलाई रिजर्भ बस्न सुझाए ।
बुधवार एक कार्यक्रममा पत्रकारले सोधेको ‘कलाकारले टिकटक बनाउनु हुन्छ कि हुँदैन’ भन्ने प्रश्नमा उनले आफ्नो भनाई राख्दै भने ‘तपाईं नेपाली फिल्म क्षेत्रलाई माया गर्नुहुन्छ र व्यवसायिक कलाकार बन्न चाहनुहुन्छ भने रिजर्भ चाहिँ बस्नुपर्छ। हरेक क्रियाकलापको टिकटक बनाउनु हुँदैन।’
पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकबाट सेलिब्रेटीहरु पनि अछुतो रहन सकेका छैनन् । दर्शकले हलमा गएर हेर्ने कलाकारहरु अहिले टिकटकमा छ्यापछ्याप्ती भेटिन्छन् । जसले गर्दा कलाकारप्रति दर्शकको चासो घट्दै गएको छ। घरमै बसेर कुनै पनि कलाकारको अभिनय टिकटकमा सित्तैमा हेर्न पाइन्छ भने दर्शकहरु किन हलसम्म जाने ? यो अहिलेको गम्भीर प्रश्न हो भन्छन अभिनेता उप्रेती ।
टिकटक मनोरञ्जनको साधन भएपनि पैसा तिरेर हलमा हेरिने कलाकारहरु टिकटकमा आएर हलुका हुनु राम्रो नभएको उनको तर्क छ । उनी अगाडि भन्छन् ‘म निर्माताको हैसियतमा पनि भन्दैछु, कुनै कलाकारमाथि निर्माताले विश्वास गरेर लाखौं,करोडौंमा फिल्म बनाउँछ तर त्यही कलाकारलाई फ्रिमा टिकटकमा हेर्न पाइन्छ भने दर्शक किन हलसम्म जान्छन् ? यो सोच्नुपर्ने कुरा हो।’
फिल्म ‘ऐश्वर्यमार्फत पुनः अभिनयमा फर्किएका नायक उप्रेती उक्त फिल्मको यूट्युब राइट्स बेचेर आफू नराम्रोसँग पछुताएको बताउँछन् । फिल्मको यूट्युब राइट्स ९९ वर्षका लागि बेचिने भएकाले फिल्मबाट हुने आम्दानीको रोयल्टी निर्माताले एक रुपैयाँ पनि नपाउने उनको गुनासो छ । उनले केही लाखको लोभमा करोडौंमा बनेको फिल्मको यूट्युब राइट्स नबेच्न निर्मातालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here