दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा पालिका स्तरीय अस्पताल निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर–५ सुरी स्थित इविथानमा १५ शैयाको अस्पताल निर्माण कार्य सुरु भएको हो ।
प्रतिनिधि सभा सांसद एवम् पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार भवनको शिलान्यास गरेसंगै अस्पताल भवन निर्माण कार्य अघि बढेको गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काले जानकारी दिनुभयो ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ओली सरकारले २०७७ मंसिरमा एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेका थिए।
सोही अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहिलो चरणमा अस्पताल नपुगेका पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने अनुमति पाएर बजेट सुनिश्चित भएसंगै सुरीमा अस्पताल निर्माण कार्य सुरु गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
अस्पताल निर्माणका लागि सुनकोसी त्रिवेणी लाफा जेभी निर्माण कम्पनीले २०७८ साल असार १० गते ठेक्का पाएकोमा २४ महिना भित्र निर्माण सम्पन्न हुनुपर्ने छ ।
भवन निर्माणका लागि १९ करोड ३२ लाख ८१ हजार ८९२ रुपियाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनीले मुल्य अभिवृद्धि कर सहित १३ करोड ७४ हजार ६५५ रुपियाँ कबुल गरि निर्मण थालिएको निर्माण कम्पनीका प्रतिनिधि प्रेम तामाङले बताउनुभयो।
संघीय सरकारको सशर्त अनुदानबाट निर्माण हुन लागेको अस्पताल भवन पक्की दुई तलाको बन्ने छ ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here